जनार्जन खत्री
सर्लाही, कात्तिक १० गते । पछिल्लो वर्षहरूमा सर्लाहीमा छठपर्व साझा पर्व बन्दै गएको छ । दक्षिणवर्ती क्षेत्रमा मात्र मनाइने छठपर्व पछिल्ला वर्षहरूमा जिल्लाभर नै धुमधामसँग मनाउन थालिएको छ ।
चुरेवर्ती भेगमा समेत हर्षोउल्लासपूर्वक पर्व मनाउन थालिएको स्थानीयले जानकारी दिएका छन् । चार दिनसम्म मनाइने छठपर्व अन्तर्गत व्रतालुले सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ चढाएका छन् । परिवारका सदस्यसहित पूजा सामग्री बोकेर सोमबार दिउँसो छठघाट अर्थात् पूजास्थलमा पुगेका व्रतालुले साँझ अस्ताउँदो सूर्यदेवको आराधनासहित अर्घ्य चढाएका हुन् ।
सर्लाहीसहित मधेश प्रदेशमा सोमबार दिनभर मौसम धुम्मिएकाले व्रतालुले अपरान्ह ४ बजेतिरबाटै सूर्यलाई अर्घ्य अर्पण गर्न सुरु गरेका छन् । व्रतालुले नजिकको खोला तथा नदी किनार, पोखरी, नहरलगायतका जलाशयमा बनाइएको छठघाटमा पानीभित्र चुर्लुम्म डुबेर अर्घ चढाएका हुन् ।
व्रतालुले अब भोलि बिहान यसैगरी उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्वको समापन हुन्छ । लालबन्दी नगरपालिका–९, बस्तीपुरकी पुनम आचार्यले छठपर्वप्रति आस्था र विश्वास बढेसँगै व्रत बसेर सूर्यलाई अर्घ चढाएको बताउनुभयो ।
जिल्लाको लालबन्दी, ईश्वरपुर, हरिवन, बागमती, बरहथवा, हरिपुरलगायत पालिकामा सबै समुदाय र वर्ग मिलेर छठपर्व मनाउनेक्रम बढ्दो छ । सर्लाहीका नागरिक समाजका अगुवा रजनीकान्त झाले छठपर्वले सबै समुदाय र जातजातिलाई एकैठाउँमा जोड्ने काम गरेको बताउनुभयो । मधेश प्रदेश अहिले छठमय बनेको छ । जताततै छठका गीत गुञ्जिरहेका छन् ।
छठ पर्वलाई लक्षित गर्दै जिल्लाको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । लालबन्दी र हरिवनमा पूर्वपश्चिम राजमार्गसँगै जोडिएको पोखरीमा छठघाट निर्माण गरेर सडकसम्म नै भिडका साथ पूजा भइरहेकाले नेपाल प्रहरी तथा ट्राफिक प्रहरी खटिएर सवारी साधन वारपार गराउने र सुरक्षा प्रदान गर्ने काम गरिरहेका छन् ।
सर्लाही प्रहरीका प्रवक्ता डिएसपी सरोज राईले प्रत्येक छठघाटमा प्रहरीले सोमबार रातभर नै सुरक्षा पहरा दिने जानकारी दिनुभयो । पारिवारिक सुख–समृद्धि, र सन्तानको कल्याणको कामनासहित कात्तिक शुक्ल षष्ठी तिथीका दिन छठपर्व मनाउने गरिएको छ ।
छठ पर्वको अवसरमा सङ्घीय सरकारले सोमबार देशभर सार्वजनिक बिदा दिएको थियो । मधेश प्रदेशमा प्रदेश सरकारले मङ्गलबार थप एक दिन प्रदेशभर बिदा दिएको छ ।