• १० कात्तिक २०८२, सोमबार

एमालेको सद्भभाव र्‍याली

तोडफोडमा संलग्नलाई कारबाही गरिनुपर्छ : मुख्यमन्त्री आचार्य

blog

एमाले अर्घाखाँचीले निकालेको सदभाव र्‍याली ।

गणेश खनाल

अर्घाखाँची, कात्तिक १० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन–जी आन्दोलनको नाममा भएको घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूलाई अविलम्ब कानुनी कठघरामा उभ्याउनुपर्ने बताउनुभएको छ ।

नेकपा (एमाले) अर्घाखाँचीले सोमबार आयोजना गरेको बृहत् सद्भाव र्‍यालीपछि सन्धिखर्कमा आयोजित कोणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले कारबाहीमा ढिलाइ गर्दा डण्डहिनता बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘धैर्यताको बाँध अझै टुटेको छैन । कानुनी शासनमा विश्वास राख्ने हाम्रो मान्यता हो । तर तोडफोड र आगजनीमा संलग्नहरूलाई अविलम्ब कारबाही गरिएन भने धैर्यताको बाँध टुट्ने छ । धैर्यताको बाँध टुटे जनताले नै कारबाही थाल्ने छन् ।’

मुख्यमन्त्री आचार्यले संविधान, राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले भन्नुभयो,  ‘संविधानको रक्षा र राष्ट्रिय एकताका लागि सबै लोकतान्त्रिक शक्तिहरू एकजुट हुन जरुरी छ ।’ सम्बाेधनका क्रममा एमाले केन्द्रीय सदस्य समेत रहनुभएका आचार्यले अर्घाखाँची एमालेको बलियो किल्ला रहेको र पार्टी सङ्गठन अझ सुदृढ बन्दैगएको बताउनुभयो ।

हुल अफ ल मानिँदैन

एमाले पोलिटब्युरो सदस्य सूर्य थापाले जनताको बलमा प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले दुई वटा निर्णय गरेका छौं । पहिलो प्रतिक्रान्तिलाई परास्त गर्न जनआन्दोलन र जनशक्तिको बलमा प्रतिनिधिसभा पुनःस्थापना गर्ने । दोस्रो जनताको शक्तिको बलमा संविधानलाई पुनः लयमा फर्काएर यो देशलाई जनताद्वारा बनाइएको संविधानबाट शासित बनाउने ।’

थापाले अहिलेको परिस्थिति अस्थिर र अराजक रहेको भन्दै संविधानले नचिनेका, जनताले नचिनेका व्यक्तिहरू प्रधानमन्त्री र मन्त्री बनेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो रुल अफ ल होइन, यो हुल अफ ल हो । हुल अफ ल मानिदैन । हामी कानुनी शासनको पक्षमा छौं ।’

कार्यक्रम नेकपा (एमाले) अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य बोमबहादुर विश्वकर्माले सम्बोधन गर्दै देशमा शान्ति, स्थिरता र कानुनी शासनको अभाव रहेको बताउनुभयो । उहाँले भदौ २३ र २४ गते जेन–जी आन्दोलनको नाममा अराजकता फैलाउने काम भएको भन्दै असंवैधानिक सरकारले जनताको अधिकारमा खेलबाड गरेको आरोप लगाउनुभयो ।

संविधानको रक्षा, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि निकालिएको उक्त बृहत् सद्भाव र्‍यालीमा जिल्लाका विभिन्न स्थानीय तहबाट नेता, जनप्रतिनिधि, कार्यकर्ता, महिला, युवा, विद्यार्थी र शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।