टोकियो, कात्तिक १० गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार मलेसियाको सफल भ्रमण सम्पन्न गरी आफ्नो एसियाली भ्रमणको दोस्रो चरणका रूपमा जापान आइपुग्नुभएको छ ।
उहाँको यो भ्रमण जापानका नवनिर्वाचित प्रधानमन्त्री साने ताकाइचीसँग पहिलो व्यक्तिगत भेटका लागि हो । यो भेटलाई दुई देशबिचको सम्बन्ध सुदृढीकरणको महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ । क्वालालम्पुरबाट प्रस्थान गर्नुअघि राष्ट्रपति ट्रम्पले मलेसियाको २४ घण्टे भ्रमणको समापन गर्दै त्यहाँका अधिकारी र जनताप्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
उहाँले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत लेख्नुभएको थियो, “अभिनव र जीवन्त देश मलेसिया छोड्दैछु । व्यापार र दुर्लभ पृथ्वी तत्वसम्बन्धी महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरियो, साथै थाइल्यान्ड र कम्बोडियाबिच ऐतिहासिक शान्ति सन्धि सम्पन्न भयो । युद्ध होइन, शान्ति! लाखौँको जीवन बच्यो-यो कार्य गर्न पाउनु मेरो लागि गर्वको विषय हो । अब, जापानतर्फ यात्रामा निस्किएँ !”
एसियाली राष्ट्रको सम्मेलन (आसियान शिखर सम्मेलन) का क्रममा राष्ट्रपति ट्रम्पले अक्टोबर २५ मा जापानकी नयाँ प्रधानमन्त्री ताकाइचीसँग पहिलो पटक टेलिफोन वार्ता गर्नुभएको थियो । जापानी प्रधानमन्त्री कार्यालयका अनुसार करिब १० मिनेट लामो संवादमा दुवै नेताले द्विपक्षीय सम्बन्ध, क्षेत्रीय स्थिरता र सहयोग विस्तारमा जोड दिनुभएको थियो ।
राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री ताकाइचीलाई ऐतिहासिक विजयका लागि बधाई दिँदै जापान-अमेरिका गठबन्धनलाई सुदृढ पार्नु आफ्नो सर्वोच्च प्राथमिकता भएको पुनः पुष्टि गर्नुभएको थियो । उहाँले भन्नुभयो, “जापान हाम्रो इन्डो-प्यासिफिक रणनीतिक भागीदारीको केन्द्रमा रहेको मित्रराष्ट्र हो ।”
प्रतिक्रियामा प्रधानमन्त्री ताकाइचीले अमेरिकासँगको सम्बन्धलाई ‘इन्डो-प्यासिफिक क्षेत्रमा अपरिहार्य साझेदारी’ भनेर वर्णन गर्दै स्वतन्त्र र खुला इन्डो-प्यासिफिक (एफओआइपी) दृष्टिकोण साकार पार्न राष्ट्रपति ट्रम्पसँग मिलेर काम गर्ने इच्छा व्यक्त गर्नुभयो । साथै, उहाँले पश्चिम एसियाको शान्ति सन्धि सम्भव गराउन ट्रम्पको नेतृत्वको प्रशंसा गर्दै अपहरण पीडितहरूको मुद्दामा अमेरिकी सहयोग निरन्तर रहोस् भन्ने आग्रह गर्नुभयो ।
दुवै नेताले आगामी भेटप्रति उत्साह प्रकट गर्नुभएको छ । प्रधानमन्त्री ताकाइचीले ट्रम्पलाई जापानमा स्वागत गर्न आतुर रहेको बताउनुभयो भने राष्ट्रपति ट्रम्पले पनि उहाँसँग प्रत्यक्ष भेटको प्रतीक्षा गरिरहेको जनाउनुभयो । राष्ट्रपति ट्रम्पको हालको तीनदिने जापान भ्रमण लगभग छ वर्षपछि हुन लागेको पहिलो भ्रमण हो ।
क्योदो न्युजका अनुसार यो भ्रमणले द्विपक्षीय सहयोग र दीर्घकालीन गठबन्धनलाई थप सुदृढ पार्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री ताकाइचीले यस महिनाको सुरुमा जापानको पहिलो महिला प्रधानमन्त्रीको रूपमा इतिहास रच्नुभएको थियो । उहाँले अक्टोबर ४ मा सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को नेतृत्व जित्नुभयो र त्यसपछिको संसदीय मतदानमा ४६५ मध्ये २३७ मत प्राप्त गरी आधिकारिकरूपमा प्रधानमन्त्री निर्वाचित हुनुभएको हो ।
मुख्य क्याबिनेट सचिव मिनोरु किहाराका अनुसार राष्ट्रपति ट्रम्पले आफ्नो भ्रमणका क्रममा जापानका सम्राट नारुहितोलाई पनि भेट्ने कार्यक्रम रहेको छ । उहाँले यस अवसरलाई ‘जापान–अमेरिका गठबन्धनलाई अझ सुदृढ पार्ने ऐतिहासिक क्षण’ भनेर वर्णन गर्नु भएको छ । रूढीवादी विचारधारा र दृढ सुरक्षा नीतिका लागि चिनिनुभएकी प्रधानमन्त्री ताकाइचीलाई स्वर्गीय पूर्व प्रधानमन्त्री सिन्जो आबेसँग तुलना गरिन्छ ।
आबेले सन् २०१७ मा ट्रम्पको पहिलो कार्यकालका क्रममा उहाँसँग घनिष्ठ सम्बन्ध कायम गर्नु भएको थियो । जनवरीमा दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्किनुभएका राष्ट्रपति ट्रम्पले अन्तिम पटक सन् २०१९ मा ओसाकामा आयोजित जी-२० शिखर सम्मेलनमा सहभागी हुन जापान भ्रमण गर्नु भएको थियो ।
ताकाइची नेतृत्वको नयाँ प्रशासनसँग राष्ट्रपति ट्रम्पको यो प्रत्यक्ष सम्पर्कले जापान-अमेरिका सम्बन्धमा नयाँ उचाइ थप्ने र क्षेत्रीय स्थिरता तथा रणनीतिक साझेदारीलाई निरन्तर बलियो बनाउने सङ्केत गरेको छ । रासस/एएनआई