• १३ साउन २०८१, आइतबार

‘मुख्यमन्त्री परिवर्तनको सम्भावना छैन’

blog

राममणि दाहाल

हेटौँडा, असार १९ गते ।  बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तन केन्द्रमा सत्तारूढ गठबन्धनको निर्णय नभएसम्म नहुने भएको छ । बागमती प्रदेशका सत्ता गठबन्धनका नेताहरूले प्रदेशमा भएको सहमतिअनुसार नेतृत्व परिवर्तन गर्न दबाब बढाउँदै गर्दा नेकपा (एकीकृत समाजवादी)को शनिबार काठमाडौँमा बसेको संसदीय दलको बैठकले सत्तारूढ गठबन्धनको केन्द्रमा निर्णय नभएसम्म बागमती प्रदेशको मुख्यमन्त्री परिवर्तन नहुने निष्कर्ष निकालेको हो ।

सत्तारूढ गठबन्धन रहेका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच गत कात्तिकमा छ महिनापछि कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको थियो । गत कात्तिक ११ गते मुख्यमन्त्री बन्नुभएका राजेन्द्रप्रसाद पाण्डेले सहमति कार्यान्वयन गर्न ढिलाइ गरेको भन्दै माओवादी केन्द्र र कांग्रेसले हस्ताक्षर सङ्कलन गरेपछि नेकपा (एकीकृत समाजवादी) दबाबमा परेको थियो । 

प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री वसुन्धरा हुमागाईंले काठमाडौँमा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री परिवर्तनका बारेमा सत्तारूढ गठबन्धनले अन्तिम टुङ्गो लगाउने निर्णय भएको जानकारी दिनुभयो । उहाँले पार्टी अध्यक्ष माधवकुमार नेपालसमेतको उपस्थितिमा भएको बैठकले बागमती प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्ने भएमा केन्द्रमा गठबन्धनको निर्णयअनुसार हुने बताउँदै अन्यत्र कहाँ के कस्तो सहमति र निर्णय भयो त्यसको औचित्य नरहने बताउनुभयो । बैठकमा पार्टी अध्यक्ष नेपालले केन्द्रीय गठबन्धनको निर्णयअनुसार सङ्घीय र सातै प्रदेशका सरकार गठन भएको भन्दै नेतृत्व परिवर्तन गर्नुपर्दा गठबन्धनको बैठकबाट नै निर्णय हुने बताउनुभएको थियो । मन्त्री हुमागाईंका अनुसार अध्यक्ष नेपालले बैठकमा सत्तारूढ गठबन्धनको निर्णय नभएसम्म बागमती प्रदेशको मुख्यमन्त्री परिवर्तन नहुने बताउनुभएको थियो ।

मुख्यमन्त्री परिवर्तनको विषयमा गठबन्धनको पाँच जना नेताले निर्णय गर्ने निष्कर्ष संसदीय दलको बैठकले निकालेको बताउँदै मन्त्री हुमागाईंले भन्नुभयो, “तत्काल प्रदेशमा सरकारको नेतृत्व परिवर्तनको सम्भावना छैन ।”

उहाँले सातवटा प्रदेशमध्ये माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादीलाई दुई–दुईवटा प्रदेशको र जनता समाजवादीलाई एउटा प्रदेशको मुख्यमन्त्री लिने गठबन्धनबीच सहमति भएको भन्दै एकीकृत समाजवादीले बागमती प्रदेशको मुख्यमन्त्री कांग्रेसलाई दिँदा अर्को कुन प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीले पाउने हो निश्चित नभएसम्म मुख्यमन्त्री परिवर्तनको सम्भावना नरहेको बताउनुभयो । कांग्रेसबाट मुख्यमन्त्री बन्ने दौडमा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ रहनुभएको थियो ।

नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री पाण्डेले बिहीबार मात्रै सामाजिक सञ्जाल ट्विटरमार्फत बागमती प्रदेश सरकार परिवर्तनलाई लिएर उठेका सवालको निरुपण पाँच दलीय गठबन्धनको केन्द्रीय बैठकबाट हुने बताउनुभएको थियो । 

प्रदेश सभाबाट बजेट पारित भएसँगै मुख्यमन्त्री पाण्डेले मुख्यमन्त्री परिवर्तनका लागि सत्तारूढ दलबाटै हस्ताक्षर सङ्कलन भएको सार्वजनिक भएपछि ट्विटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएको थियो । उहाँले ट्विटरमार्फत भन्नुभएको थियो, गठबन्धनको मूल मर्म कायम रहने गरी आगामी कदम तय हुनेछ ।

उता नेपाली कांग्रेस संसदीय दलका नेता बानियाँले सहमति कार्यान्वयन गर्न माओवादी केन्द्र र कांग्रेसले हस्ताक्षर सङ्कलन सुरु गरेको बताउनुभएको छ । उहाँले हिजो सहमतिमा मुख्यमन्त्री बनाइएको थियो त्यही सहमतिअनुसारको प्रक्रिया अगाडि बढाउन र प्रदेश प्रमुखकोमा जान हस्ताक्षर सङ्कलन गरिएको बताउनुभयो । 

प्रदेश सभामा नेकपा (एमाले)को ४१, माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, राप्रपाको दुई, विवेकशील साझा पार्टीको तीन, नेमकिपाको दुई र जसपाको एक जना प्रदेश सभाका सदस्य रहेका छन् । एमालेबाट निर्वाचित दुई जना प्रदेश सभा सदस्यले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिनुभएको थियो भने एक जनाको निधन भएको छ ।