• ७ कात्तिक २०८२, शुक्रबार

छठ पर्वका लागि घाट निर्माण तीव्र

blog

पोखरीमा घाट निर्माणमा व्यस्त स्थानीयवासी । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

राजविराज, कात्तिक ७ गते । दसैँ र तिहारको उल्लास सकिएलगत्तै तराईका सर्वसाधारण अहिले सूर्य पूजाको महान लोकपर्व छठको तयारीमा जुटेका छन् । छठ गीत र धुनले गाउँ–सहर गुन्जिरहेका बेला श्रद्धालुहरू जलाशयहरूमा पूजा स्थलको सरसफाइ, घाट निर्माण तथा सजावटमा व्यस्त भएका छन् ।

सप्तरी जिल्लाका भगवती पोखरी, कल्टुदास पोखरी, तुरन्ती पोखरी, पुर्णी पोखरी, झल्ही पोखरी, बिहारपुर पोखरी, सिस्वाबेल्ही पोखरी, खैरसाल पोखरी र कोशी ब्यारेजलगायतका जलाशयहरूमा छठ पर्व मनाउन विशेष तयारी भइरहेको छ । पूजा स्थलहरू सुरक्षित बनाउनका साथै घाटहरूलाई आकर्षक बनाउने काम युद्धस्तरमा अगाडि बढाइएको छ ।

तिहार सकिएसँगै छठ गीत र धुन हर टोल–गल्लीमा गुन्जिन थालेका छन् । बजारका पसल, घर आँगन र सार्वजनिक स्थलमा लाउडस्पिकरमार्फत मैथिली र भोजपुरी भाषाका छठ गीतहरू बजाइँदै छन् । 

स्थानीय एफएम रेडियोहरूले पनि छठ पर्वका विशेष गीतहरू प्रसारण गर्दै वातावरणलाई अझ धार्मिक बनाएको छिन्नमस्ता एफएमका नविन नरसिंह नेपालीका अनुसार, सप्तरीका सबै एफएमले हाल छठ लोकभाकालाई विशेष प्राथमिकता दिएका छन् ।

छठ गीतहरूको लोकप्रियताले बजारमा पनि रौनक थपेको छ । पान पसलदेखि डिपार्टमेन्टल स्टोरसम्म छठी मैयाका भजनहरू गुन्जिरहेका छन् । मोबाइल पसल सञ्चालक राजकुमार मेहताका अनुसार, लामो दूरीका सवारी चालक र महिलाहरूले आफ्नो मोबाइलमा छठी माताका गीतहरू डाउनलोड गरिरहेका छन् । “यात्रीहरूले यात्रा क्रममा पनि सवारी साधनमा छठी माताको गीत बजाउँछन्,” मेहताले बताउनुभयो ।

यस पर्वमा श्रद्धालुहरू सूर्य देवताको आराधना गर्दै दुःख, कष्ट र रोगव्याधी नाश होस् भन्ने कामना गर्छन् । समयसँगै छठ पर्व अझ भव्य र खर्चिलो बन्दै गएको छ । पूजा सामग्री, डाला, ढाकी, माटाका हात्ती, केराको घरी, विविध परिकार र फलफूलका साथ यो पर्व मनाइन्छ ।

छठ अब केवल तराईवासीमै सीमित छैन । पहाडी र मुस्लिम समुदायका श्रद्धालुहरूले पनि श्रद्धापूर्वक मनाउने गरेको मधेश प्रज्ञा प्रतिष्ठानका सदस्य दिनेशकुमार यादवले भन्नुभयो, ‘‘सक्नेले व्रत बस्छन् भने नसक्नेले फलफूल अर्पण गरेर सूर्य आराधना गर्छन् ।’’

चार दिनसम्म मनाइने यो पर्वमा सोमबार साँझ अस्ताउँदो सूर्य र मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजा गरिने छ  ।