• १८ असार २०८१, मङ्गलबार

त्रियुगामा बाढीले विभिन्न स्थानमा तटबन्ध भत्कायो

blog

उदयपुरको चौदण्डिगढी नगरपालिका १० स्थित शिवनगर देवन टोलमा त्रियुगाको बाढीले बगाएको तटबन्ध । तस्विर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल

गाईघाट,असार १८ गते । उदयपुरको त्रियुगा नदी नियन्त्रणका लागि निर्माण गरिएको उच्च गुणस्तरको भनिएको तटबन्ध विभिन्न स्थानमा बाढीले बगाएको छ । सदरमुकाम गाईघाट हुँदै सप्तकोसीसम्म जोडिएको त्रियुगा नदी नियन्त्रण गर्न नेपाल सरकारले छुट्टै गुरुयोजना बनाएर काम गर्दैआएको छ ।

जिल्लाको वेलका नगरपालिका १ आमवासिस्थित त्रियुगा नदी ब्यवस्थापन आयोजना कार्यालयले त्रियुगा नदीको दुवै किनारमा तटबन्ध निर्माण गरी नदी नियन्त्रणको कामलाई दु्रत गतिमा अगाडि बढाउँदै आएको थियो । शुक्रवार राती परेको अविरल वर्षापछि आएको त्रियुगाको बाढीले चौदण्डिगढी नगरपालिका क्षेत्रको विभिन्न स्थानमा बाढीले तटबन्ध बगाएको आयोजना प्रमुख रेवाकान्त यादवले बताउनुभयो । 

चौदण्डिगढी नगरपालिका १० स्थित शिवनगर र बाहुन्ना खोला दोभानमा गरी करिव दुईसय ५० मिटर तटबन्ध बगाएको उहाँको भनाइ छ । त्यस क्षेत्रमा ठूलो परिमाणमा हालै रोपाई गरिएको धानबालीमा पनि क्षति गरेको उहाँले बताउनुभयो । रोकथामका लागि भरपर्दाे व्यवस्था नगरिए बकैनिया, विष्णुजग, रुद्रजग र हडिया वजारक्षेत्र समेत बाढीको उच्च जोखिममा रहेको वडा १० का वडा अध्यक्ष धर्मराज खड्काले बताउनुभयो । 

यसैगरी चौनपाकै वडा ५ स्थित बेल्हा क्षेत्रमा पनि बाढीले बाँध बगाएको अध्यक्ष खडकाले बताउनुभयो । बेल्हा क्षेत्रमा करिव २५ मिटर लामो तटबन्ध त्रियुगाको बाढीले बगाउँदा त्यस क्षेत्रको करिव १० विघामा रोपिएको धान खेत नष्ट भएको स्थानीय रामकुमार चौधरीले बताउनुभयो । 

छ वर्ष भित्रमा निर्माण कार्य सम्पन्न गर्नेगरी त्रियुगा नदी नियन्त्रणका लागि आठ अर्व १५ करोड रुपियाँको लागत इष्टमेटसहितको बिस्तृत परियोजना प्रतिवेदनअनुरुप चालु आर्थिक वर्षमा गजुरमुखि कान्छाराम बुध्दहिमाली जेवि काठमाडौ र कालिका शर्मा कुमार जेवि कन्स्ट्रक्सन काठमाडौको निर्माण कम्पनिबाट दुवैतर्फ तटबन्ध निर्माणको काम गर्दैआएको   छ । 

बाढीले बगाएमा निर्माण कम्पनिले नै पुनः निर्माण गर्नुपर्ने र त्यसो नगरेमा भुक्तानी रोक्काहुने प्रावधान रहेको आयोजना प्रमुख यादवले बताउनुभयो । त्रियुगा नगरपालिकाको होक्से कालिखोलादेखि सप्तकोसीसम्म ४२ किलोमिटर लामो यस त्रियुगा नदीको  एक हजार तीनसय वर्ग किलोमिटर जल बहावक्षेत्र रहेको छ ।