अर्जुन काफ्ले
स्याङ्जा, कात्तिक ५ गते । जन्मसँगै मृत्यु पनि मानव जीवनसँग जोडिएको सत्य हो । मानवचोला सकिएपछि समाधि हुने ठाउँ सबैको हुन्छ । तर समाधि लिने ठाउँ व्यवस्थित नहुँदा मलामी जानेलाई समस्या हुनेगरेको छ ।
कतिपय यस्ता ठाउँहरू पनि छन् जहाँ दाहसस्कार गर्ने घाट अव्यवस्थित हुदाँ मलामीले सास्ती भोग्नुपरेको छ । गल्याङ नगरपालिका–१, राम्दीमा रहेको रामननदी घाटमा आवश्यक संरचना व्यवस्थित नहुदाँ यहाँ दाहसंस्कारका लागि आउने मलामीले समस्या हुँदैआएको गुनासो गर्नुभएको छ ।
स्याङजा र पाल्पाको सङ्गमस्थल धार्मिक तथा पर्यटकीय महत्त्व भएको यहाँ जिल्लाको सबै ठाउँबाट अन्तिम संस्कारका लागि शव ल्याउने गरिन्छ । कालीगण्डकीमा बगाएर ल्याएका काठ, दाउरा सङ्कलन गरेर संस्कारमा प्रयोग गर्ने चलन लामो समयदेखि चल्दैआएको छ ।
यहाँ अहिलेसम्म घाटमा दाहसंस्कारका लागि लाश जलाउने चिता घर, पिउने पानी, शौचालय एवम् मलामी प्रतिक्षालय नहुँदा जोखिमपूर्ण संस्कार गर्नुपरेको स्थानीय ऋषि न्यौपानेले बताउनुभयो ।
न्यौपानेले घाट राम्रो नहुँदा वातावरण प्रदूषित भइरहेको बताउनुभयो । वर्षामा दाहसंस्कारका लागि सबैभन्दा दुःख हुनेगरेको बताउँदै न्यौपानेले चिता बनाउँदा बगाउने गरेको र भिजेरै जलाउनु पर्ने बाध्यता रहेको बताउनुभयो ।
घाटमा जाने वाटो हरेक वर्ष बाढीले क्षति गर्नेगरेको, बिजुुली बत्तीको सहज व्यवस्था नहुँदा रातिमा सस्कार गर्न समस्या हुनेगरेको उहाँको भनाइ छ । धार्मिक हिसाबले कालीगण्डकीमा सस्कार गर्दा पुन्य हुने भन्दै धेरै ठाउँबाट राम्दीमा संस्कार गर्ने गरेको भए पनि घाट अस्तव्यस्त हुँदा समस्या भइरहेको गल्याङ–१ का वडाध्यक्ष मणिप्रसाद बस्यालले बताउनुभयो ।
छ, सात वटा पालिकाको घाट भएको बताउँदै बस्यालले कसैको बनाउन ध्यान नपुगेको र सबैको चासो हुनुपर्ने बताउनुभयो । यहाँ वर्षमा एक हजारभन्दा धेरैको दाहसंस्कार हुनेगरेको बताइन्छ ।