प्रवीणकुमार शर्मा
रौतहट, कात्तिक ५ गते । कला र संस्कृतिको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले रौतहटको चन्द्रनिगाहपुरमा देउसीभैलो कार्यक्रम सम्पन्न भएको छ ।
२०७२ सालदेखि हरेक वर्ष हुँदै आएको देउसीभैलो कार्यक्रमको निरन्तरता स्वरूप यस वर्ष भाइटीकाको अघिल्लो दिन बुधबार सम्पन्न गरिएको नागरिक समाज चन्द्रपुरका अगुवा बिमल भट्टराईले बताउनुभयो । यस्ता सांस्कृतिक गतिविधिले समुदायबिच एकता, आपसी सद्भाव र पहिचान बलियो बनाउने उहाँले बताउनुभयो ।
नागरिक समाज चन्द्रपुरका अर्का अगुवा महारत्न विष्टका अनुसार यस्ता कार्यक्रमले स्थानीय परम्परा, कला र संस्कृतिलाई जगेर्ना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । आधुनिकतासँगै हराउँदै गएको परम्परागत संस्कृतिलाई पुनः जीवित राख्ने प्रयास स्वरूप यस्ता कार्यक्रमलाइ निरन्तरता दिइएको उहाँले बताउनु भयो ।
ढाका टोपी र गम्छा लगाएर स्वतःस्फूर्त रूपमा स्थानीय युवा देखि वृद्धसम्म सहभागी भई देउसी भट्याउँदै, नाचगान गर्दै कार्यक्रम सम्पन्न भएको चन्द्रपुर नगरपालिका ६ नं. वडाका वडाध्यक्ष सहदेव केसीले जानकारी दिनुभयो ।
आफ्नो मौलिक संस्कृतिलाई सम्मान र निरन्तरता दिँदै चन्द्रनिगाहपुरवासीले मनाउँदै आएको यो देउसीभैलो कार्यक्रमले स्थानीय स्तरमा कला, संस्कृतिको संरक्षण र सामुदायिक एकताको प्रतीकका रूपमा स्थापित हुँदै गएको उहाँले बताउनुभयो ।