• ५ कात्तिक २०८२, बुधबार

जुवा खेलिरहेका पाँच जना पक्राउ

blog

प्रहरीले बरामद गरेको तास, कौडा र नगद । तस्बिरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, कात्तिक ५ गते । मकवानपुर प्रहरीले जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ६ बुक तास, १६ वटा कौडासहित ५ जनालाई नियन्त्रणमा लिएको हो । 

हेटौँडा उपमहानगरपालिका–४, थाहा चोकस्थित पदम खाजा घर पछाडि रहेको टहरामा जुवातास खेलाइरहेको विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

प्रहरीले होटेल सञ्चालक बागमती गाउँपालिका–१ घर भई हाल हेटौँडा–४ बस्ने ४० वर्षीय पदमबहादुर भोलन, बागमती गाउँपालिका–१ बस्ने ३४ वर्षीय समीर योन्जन, कैलाश गाउँपालिका–१० बस्ने ४० वर्षीय हीरा लामा तितुङ, हेटौँडा–११ बस्ने ३० वर्षीय मिलन तामाङ र बारा निजगढ नगरपालिका–५ बस्ने ४५ वर्षीय रोमप्रसाद चौलागाईलाई नियन्त्रणमा लिइएको छ ।

हारजित हुने गरी जुवातास र कौडा खेलिरहेको अवस्थामा नगद ४७ हजार ७९० रुपियाँ, कौडा १६ वटा र ६ बुक ताससहित बरामद गरिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बोगटीले जानकारी दिनुभयो ।