• ५ कात्तिक २०८२, बुधबार

झिनियाँ उद्यमीलाई माग थेग्नै गाह्रो

blog

झिनियाँ सुकाउँदै रामपुरका उद्यमी रुद्र नारायण श्रेष्ठ । तस्बिर : इमान सिं राना

इमान सिं राना
रामपुर  (पाल्पा), कात्तिक ५ गते ।
तिहारमा भाईटिका लगाइदिएपछि दिदी बहिनीले दाजुभाइलाई अन्य परिकारसँगै झिनियाँ रोटी दिने प्रचलन छ । जसका कारण तिहारमा झिनियाँको माग धेरै छ । तर यस वर्ष  सिजनमा उत्पादन गर्न नपाउँदा झिनियाँको माग उच्च भए पनि पूरा गर्न नसकिएको उद्यमीहरुले बताएका छन् ।

झिनियाँ बनाउने समयमा धेरै समय पानी पर्नुका साथै चाडपर्व पनि छिटो भएकाले सिजनमा उत्पादन गर्न नपाउँदा अहिले माग पूरा गर्न भ्याइनभ्याई भएको हो । १० वर्ष अघिदेखि व्यवसायिक रुपमै झिनियाँ बनाउँदै आउनु भएका रामपुर नगरपालिका–५, राङ्भाङ्गका रुद्र नारायण श्रेष्ठले अहिले झिनियाँको माग धेरै भए पनि पूरा गर्नै मुस्किल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘दसैँतिहारका लागि झिनियाँ उत्पादन गर्ने सिजनमा वर्षा भएकाले उत्पादन गर्न सकिएन । त्यसैले बजारमा माग अत्याधिक भए पनि पूरा गर्नै मुस्किल छ ।’’

श्रेष्ठले दसैँतिहारका लागि मात्र नभै झिनियाँलाई खाजाको रुपमा पनि प्रयोग गरिने भएकाले श्रेष्ठले वर्षाद र जाडो समयमा बाहेक हरेक वर्ष सात महिना झिनियाँ उत्पादन गर्दै आउनु भएको छ । झिनियाँ बनाउन आधुनिक प्रविधिको प्रयोग गर्दै आउनु भएका श्रेष्ठले परिवारका सदस्य बाहेक अन्य ६ जनालाई रोजगार प्रदान गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, ‘‘सुकाउनका लागि घाम नै आवश्यक पर्छ । तयार गरेको झिनियाँ एक दिन भित्र सुकाउन सकिनएन भने विग्रिन्छ । वर्षा धेरै भएकाले  दशै अघि उत्पादन गर्न नपाउँदा माग अनुसारको उत्पादन गर्नै गाह्रो भयो ।’’

यस वर्ष दसैँ तिहारको अवसरमा पाँचदेखि ६ लाख रुपियाँसम्मको झिनियाँ बिक्री गर्न सफल भएको श्रेष्ठले बताउनुभयो । तिहारका लागि चितवन, बुटवललगायका स्थानबाट माग आए पनि कालीगण्डकी वेशीको पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर क्षेत्रको माग समेत धान्न मुस्किल भएको उहाँ बताउनुहुन्छ । उहाँले वार्षिक १० देखि १२ लाख रुपियाँसम्म झिनियाँ उत्पादन गर्दै आउनु भएको छ ।

विगत तीन वर्षदेखि झिनियाँ उत्पादन गर्दै आउनु भएका रामपुर नगरपालिका–४ सृजनाचोकका विष्णु सारुलाई तिहार लागि सकेपनि यति बेला झिनियाँ उत्पादन गर्न भ्याईनभ्याइ छ । विशेष गरी दसैँतिहारलाई लक्ष्यित गरी उत्पादन गर्दै आउनु भएका सारुले सिजनमा तयार गर्न नसकिएकाले अहिले माग पूरा गर्न समस्या भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यो वर्ष चाडहरु पनि छिटो आयो । धेरै समय पानी परेकाले यस वर्ष समयमा तयार गर्न नसक्दा अहिलेको माग पूरा गर्न गाह्रो भएको छ ।’’ उहाँले सिजनमा दुईदेखि तीन लाखसम्म झिनियाँ बाट आम्दानी गर्दै आएको बताउनुभयो । याहाँका व्यवसायीहरुले थोकमा ९० रुपियाँ दर्जन र खुद्रा १०० भन्दा बढीमा बिक्री गर्दै आएका छन् ।

जिल्लाको रामपुरसँगै तानसेन, निस्दीको गल्धा, रम्भा, माथागढी, रिब्दीकोट, बगनासकालीलगायत पालिकाका उद्यामीहरुले झिनियाँ उत्पादन गर्दै आएका छन् । चामलको पिठोलाई पकाएर मेसिनको सहायताले झिनियाँ बनाई सुकाएर तयार गर्ने गरिन्छ । सुकाएको झिनियाँलाई आवश्यक परेको बेला तेलमा फुर्‍याएर जुन सुकै समयमा पनि तयार पारेर खान सकिन्छ ।