• ५ कात्तिक २०८२, बुधबार

जोखिमपूर्ण कार्य नगर्न प्रशासन कार्यालयको सचेत

blog

पश्चिम नवलपरासी जिल्ला प्रशासन कार्यालय

पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, कात्तिक ५ गते ।
पश्चिम नवलपरासीमा जिल्ला प्रशासन कार्यालयले चाडपर्वको समयमा हुने पारिवारिक वा सामुदायिक झगडा, जुवातास, लठ्ठबाजी, हुुलदङ्गा र पटका तथा आतिशबाजी जस्ता जोखिमपूर्ण कार्यहरू नगर्न सचेत गराएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी पोषन राज भण्डारीद्वारा हस्ताक्षरित सूचनामा चाडपर्वहरूलाई सौहार्दपूर्ण वातावरणमा मनाउन र कानुन विपरीतका गतिविधि नगर्न सबैलाई अनुरोध गरिएको छ । साथै, मादक पदार्थ सेवन गरी अशान्ति फैलाउने कार्यमा संलग्न नहुन पनि आग्रह गरिएको छ ।  

ध्वनि प्रदूषण नियन्त्रण गर्नका लागि अत्यधिक आवाज निकाल्ने साउन्ड सिस्टम, माइक, डेक र पब्लिक एड्रेस सिस्टमको प्रयोगमा सावधानी अपनाउन निर्देशन दिइएको छ । आगलागी वा विस्फोटकजन्य खतरा निम्त्याउने सामग्रीहरूको प्रयोगमा समेत सतर्कता अपनाउन प्रशासनले जोड दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले देउसी–भैलो लगायतका सांस्कृतिक कार्यक्रमहरू राति ९ बजेभित्र सम्पन्न गर्न समयसीमा तोकेको छ ।

नेपालको नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्ला प्रशासन कार्यालयले आगामी शुभ–दीपावली, नेपाल संवत् ११४६ र छठ पर्वको अवसरमा शान्ति, सुरक्षा र आपसी सद्भाव कायम गर्न विशेष आग्रह गरेको छ ।

चाडपर्व अवधिभर सुरक्षा संयन्त्र सतर्क रहने जानकारी दिँदै प्रशासनले कुनै पनि आपतकालीन घटना वा विपद् आएमा तुरुन्तै प्रशासनलाई जानकारी गराउन नागरिकहरूलाई अनुरोध गरेको छ । समग्रमा, प्रशासनले सहयोग, सहिष्णुता र सद्भावको वातावरणमा पर्व मनाउन र प्रचलित कानुनी व्यवस्थाको पूर्ण पालना गर्न सबैमा आह्वान गरेको छ ।