• ५ कात्तिक २०८२, बुधबार

भत्ता पाएपछि ज्येष्ठ नागरिक खुसी

blog

कञ्चनपुर,  कात्तिक ५ गते ।  समयमै सामाजिक सुरक्षा भत्ता वापत्को रकम पाउँदा शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीकी ७३ वर्षीया मनादेवी साउद अत्यन्तै खुसी हुनुभएको छ । 

भत्ताको रकम हातमा परेपछि उहाँले मीठोमसिनो खाने, नयाँ लुगा किन्ने र छोरीलाई दान दक्षिणा गर्ने योजना बनाउनुभएको छ ।

“दसैँमा भत्ता नपाउँदा सरसापट गरेरै मनाएका थियौँ, यो तिहारमा भने नगरपालिकाले बैंक खातामा रकम पठाइदिँदा रमाइलो भयो”, उहाँले हास्दै भन्नुभयो । 

सोही वडाका ७५ वर्षीय करवीर साउदले पनि भत्ता रकम पाउँदा सहज महसुस भएको बताउनुभयो । तर, बैंकसम्म पुग्दा भने कठिनाइ झेल्नुपरेको उहाँको भनाइ रहेको छ । 

“कच्ची सडकमा झण्डै सात किलोमिटरको बाटो अटोको सय रुपैयाँ भाडा तिरेर बैंक पुगे, बैंकमा हुने भिडभाडले पालो पर्खनमै घण्टौँ लाग्छ”, उहाँले भन्नुभयो, “पहिला झैँ वडामै भत्ता वितरणको व्यवस्था भए अझै सजिलो हुन्थ्यो ।”

नगरपालिकाका–११ वटा वडाका ज्येष्ठ नागरिकसहितका लाभग्राहीले भत्ता पाए पनि वडा नं २ का लाभग्राही भने अझै रकम पाउन सकेका छैनन । भत्ता पाउने व्यक्तिको विवरण बैंकमा पठाउन छुटेकाले रकम झण्डै रोकिन पुगेको बताइएको छ । वडा नं २ का ७१ वर्षीय धनिराम चौधरी भत्ता पाउने आसमा अटो भाडा तिरेर बैंक पुगेका थिए । तर रकम नपाएपछि उहाँ रित्तो हात फर्किन बाध्य हुनुभयो । “छिमेकीबाट अटो भाडा सरसापट गरेर दुवै दम्पती बैंक पुग्यौँ”, उहाँले भन्नुभयो, “नगरपालिकाबाट समयमै पैसा नपठाउँदा निराश भएर फर्किन बाध्य भयौँ ।” 

नगरपालिकाको सूचना प्रविधि शाखाका अधिकृत लोकराज भट्टका अनुसार तिहारलाई लक्षित गर्दै सामाजिक सुरक्षाअन्तर्गतका पाँच हजार २१३ जना लाभग्राहीको भत्ताको रकम बैंक खातामा पठाइएको बताउनुभयो ।

उहाँका  अनुसार, लाभग्राहीमध्ये अन्य ज्येष्ठ नागरिक दुई हजार ६५०, ज्येष्ठ दलित  २९७, ज्येष्ठ एकल महिला ४३०, विधवा ८७२, पूर्ण अपाङ्गता भएका ११९, अतिअशक्त अपाङ्गता भएका २७४ र दलित बालबालिका ५७१ जना रहेका छन् । रासस