राधा लुइटेल
फिदिम, कात्तिक ५ गते । दौरा सुरुवाल र ढाका टोपीमा सजिएका पुरुष अनि, गुन्यू चोलो र चौबन्दी लगाएर लाछा धागोले कपाल बाँधेका महिला । पाँचथरमा जातीय पहिचान झल्किने भेषभुषामा सजिएर याबु्रङ, डम्फु र ढोल बाजागाजाका साथमा उनीहरु देउसी खेलिरहेका छन् । सांस्कृतिक पर्व तिहारमा समेत पश्चिमा संगीत र नृत्यले नेपाली संस्कृतिमा अतिक्रमण बढाएको भन्दै युवा पुस्ताले देउसीमार्फत् सांस्कृतिक जगेर्नाको अभियान थालेका हुन् ।
यहाँका लिम्बू जातीले तिहारलाई वलिहाङ तङनाम नाम दिएर भट्याउँदै नाम्लिङगेक लारिङगेक खेल्ने गर्छन । यो वर्ष जिल्लाका प्रायः स्थानीय तहमा किराँत याक्थुङ चुम्लुङको ब्यानरमा देउसी खेलिरहेका युवा पुस्ता संस्कृति जगेर्नाका लागि जुर्मराएको बताँउछन् ।
चुम्लुङका जिल्ला उपाध्यक्ष सुवाष तुम्बापोका अनुसार तिहारलाई चुम्लुङले मनोरञ्जनसँगै संस्कृति जोगाउने उत्सवका रुपमा लिने गरेको छ ।
राई समुदायका सदस्य पनि जातीय भेषभुषामा सजिएर ढोल बजाँउदै चण्डी नाचेर देउसी खेलिरहेका छन् । मौलिक भाकामा भट्याउने र देउसी रे भन्नेहरु लक्ष्मी पूजाका दिनदेखि यसरी निरन्तर जुटिरहेका हुन् । नेपाली मौलिक सांस्कृतिक पर्व तिहारको मौलिकता जोगाउन युवादेखि ज्येष्ठ नागरिकसम्म एकै साथ लागेका हुन् ।
त्यसो त मगर समुदायमा आकर्षक पहिरन लगाएर कौडा र हुर्रा नाच्दै देउसी खेलिरहेका छन् । मगर संघले प्रत्येक वर्ष तिहारमा मौलिक पोशाक र भेषभुषामा देउसी खेल्ने गरिएको पाँचथर जिल्ला सचिव प्रेम केप्छाकीले बताउनुभयो ।
पाँचथरमा यसरी मौलिक पहिरनमा देउसी भैलो नखेलेको धेरै भइसकेको थियो । तर अहिले युवा पुस्तामा आएको जागरणले मनोरन्जन प्रदान गर्न सहयोग पुगेको स्थानीय बताउँछन् ।
तिहारको जस्तै मौलिकता नेपालमा मनाइने हरेक चाडपर्वमा छ । तर पछिल्लो समय ज्येष्ठ सदस्यहरुले आफूसँग भएको ज्ञान र सीप नयाँ पींढिलाई हस्तान्तरण नगर्ने र युवा पुस्तामा विदेशिने लहर बढिरहेका बेला पाँचथरमा देखिएको जागरणले संस्कृति संरक्षणमा सहयोग पुगेको छ । इतिहासका जानकारी राजेन्द्रकुमार जवेगूको टिप्पणी छ । चुम्लुङ, यायोक्खा र मगर संघसहित जिल्लाका सामाजिक संस्थाहरुले पनि मौलिक पोशाकमा सजिएर देउसीभैलो खेलिरहेका छन ।