राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), कात्तिक ५ गते । फोहोरमैला व्यवस्थापनमा उत्कृष्ट काम गर्दै आएको स्याङ्जाको वालिङ नगरपालिकाले गएको आर्थिक वर्षमा झण्डै २७ लाख आम्दानी गर्न सफल भएको छ । फोहोरमैला व्यवस्थापन शुल्क र बिक्री शुल्क वापत यो रकम आम्दानी गरेको हो ।
नगरपालिकाले नगर क्षेत्रका झण्डै ३ हजार घरपरिवारबाट दैनिक फोहोरमैला सङ्कलन गरिँदै आएको छ । कुहिने र नकुहिने दुई थरीका फोहोर उठाउने नगरपालिकाले फोहोर व्यवस्थापन शुल्क वापतमात्रै २५ लाख उठाउने गरेको छ भने सङ्कलित फोहोरमैला बिक्री शुल्क वापत करिब दुई लाख गरी झण्डै २७ लाख रुपियाँ आम्दानी गरेको नगर प्रमुख कृष्ण खांणले जानकारी दिनुभयो ।
नगरपालिकाले घरघरबाट उठाउँदै आएको फोहोरलाई सरसफाइ केन्द्रमा लगेर व्यवस्थापन गर्ने गरेको हो । २०५३ सालमा स्थापना भएको वालिङमा अहिलेसम्म ल्यान्डफिल्ड सञ्चालनमा छैन ।
बजारबाट कुहिने पाँच टन र नकुहिने पाँच टन गरी दैनिक सङ्कलित १० टन फोहोरलाई वर्गीकरण गरेर बिक्री गरिँदै आएको नगरपालिकाका वातावरण तथा सरसफाई शाखा प्रमुख मणि रेग्मीले जानकारी दिनुभयो ।
वर्गीकृत फोहोरमध्ये कुहिनेमध्ये घाँसपात, कागज, तरकारी, फलफूलका बोक्रा, भान्साबाट निस्कने अन्य फोहोरलाई मलमा रुपान्तरण गरिँदै आएको रेग्मीको भनाइ छ । कुहिने फोहोरलाई गड्यौलालाई खुवाएर मल तथा प्राङ्गारिक मल बनाइँदै आएको छ ।
नकुहिने फोहोरमध्ये प्लाष्टिक, कपडा, टिना–फलाम, कार्टुनलाई तौलका आधारमा कवाडीलाई बिक्री गरिदै आएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ मा नगरपालिकाले फोहोरमैला व्यवस्थापन शुल्कबाटै झण्डै ३० लाख आम्दानी गर्ने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले एन्फो नामक परियोजनासँगको सहकार्यमा दिसाजन्य लेदो (सल्ज टिटमेन्ट प्लान्ट) समेत व्यवस्थापन गर्दै आएको छ । दिसाजन्य लेदोलाई प्लान्टबाट पानी र ठोस वस्तु छुट्टाएर पानी सुकाउने र ठोस वस्तुलाई मल बनाउने गरेको छ । सेवाग्राहीको सेफ्टी ट्याङ्कीको दिसाजन्य लेदो पदार्थ नगरपालिकाले प्रतिट्याङ्की ६ हजार पाँच सयमै व्यवस्थापन गर्दै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुबेदीले जानकारी दिनुभयो ।
फोहोरमैलाका क्षेत्रमा देशका अन्य पालिकाहरुले निजी क्षेत्रसँगको साझेदारीमा काम गर्दै आइरहेको भए पनि वालिङले आफ्नै अगुुवाइमा फोहोरमैलाको व्यवस्थापन गर्दै आएको उपप्रमुख कविता तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो,“नगरपालिकाले फोहोर बर्गिकरणका लागि बनाएको सरसफाइ केन्द्र पछिल्लो समय सिकाइ केन्द्रको रुपमा विकास हुँदै गएको छ ।”
देशका विभिन्न पालिकाबाट मात्रै नभएर विदेशबाट पनि असल अभ्यास सिकाइका लागि वालिङ आउने गरेका उहाँको भनाइ छ । केन्द्रमा आउनेहरुका लागि फोहोरमैला व्यवस्थापनको बारेमा जानकारी दिनका लागि सूचना केन्द्र सञ्चालन गरिएको पालिकाले जनाएको छ ।