टोकियो, कात्तिक २ गते । जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) सोमबार नयाँ गठबन्धन सम्झौतामा हस्ताक्षर गर्न तयारी अवस्थामा रहेको बताइएपछि साने ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने सम्भावना झन् प्रबल भएको जापानी मिडियाले जनाएको छ ।
ताकाइची यसै महिनाको सुरुआतमा एलडिपीकी नेत्री निर्वाचित हुनुभएको थियो तर गठबन्धन पतनपछि उहाँको प्रधानमन्त्री बन्ने प्रयास अस्थायी रूपमा अवरुद्ध भएको थियो । त्यसयता एलडिपीले नयाँ राजनीतिक सहकार्यको माध्यमबाट ताकाइचीको प्रधानमन्त्री पदतर्फको मार्ग पुनः प्रशस्त गर्ने प्रयास गरिरहेको छ ।
क्योदो न्युजका अनुसार एलडिपी नेत्री ताकाइची र सुधारवादी दक्षिणपन्थी विपक्षी जापान इनोभेसन पार्टी ९जेआइपी० की नेत्री हिरोफुमी योशिमुरा सोमबार नयाँ गठबन्धन सम्झौतामा हस्ताक्षर गर्न तयार हुनुहुन्छ । उक्त समाचार संस्थाले दुवै दलका अज्ञात वरिष्ठ अधिकारीहरूको उद्धरण दिँदै रिपोर्ट गरेको हो ।
यस्तै, योमियुरी सिम्बुनका अनुसार पनि ‘ताकाइची र योशिमुराले सोमबार वार्ता सम्पन्न भएपछि औपचारिक रूपमा गठबन्धन सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना उच्च छ ।’
एलडिपीको दीर्घकालीन गठबन्धन साझेदार कोमेइटो पार्टीले २६ वर्षपछि सत्तारूढ गठबन्धन तोडेसँगै जापान हाल राजनीतिक सङ्कटको अवस्थाबाट गुज्रिरहेको छ । विपक्षी दलहरू भने प्रधानमन्त्रीका लागि साझा उम्मेदवारमा सहमत हुन असफल भएका छन् ।
एलडिपी र जेआइपीबीच बन्न लागेको नयाँ गठबन्धनले मङ्गलबार ताकाइचीलाई प्रधानमन्त्रीका रूपमा संसद्बाट निर्वाचित गराउन सक्ने सम्भावना देखिन्छ । तथापि दुवै दल संयुक्त रूपमा संसद्को तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) मा बहुमत प्राप्त गर्न दुई सिट टाढा छन् ।
यदि प्रधानमन्त्रीको मतदान दोस्रो चरणमा पुग्यो भने ताकाइचीलाई केवल अन्य दलका सांसदहरूको समर्थन आवश्यक पर्नेछ । यस्तो अवस्थामा उहाँ प्रधानमन्त्री पदमा निर्वाचित हुने सम्भावना उच्च रहेको राजनीतिक विश्लेषकहरूको मत छ ।
यो सम्पूर्ण राजनीतिक घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जापान भ्रमणको केही दिनअघि भइरहेको छ । ट्रम्प दक्षिण कोरियामा हुने वार्षिक एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन ९एपेक० शिखर सम्मेलनमा सहभागी हुनुअघि जापान पुग्ने तय भएको छ ।
एलडिपी र जेआइपीका वरिष्ठ अधिकारीहरूले गत शुक्रबार टोकियोमा भएको वार्तामा केही महत्त्वपूर्ण सहमति गरेका थिए । तीमध्ये प्रमुख बुँदामा एलडिपीले खाद्य वस्तुमा उपभोग कर (कन्जम्पसन ट्याक्स) हालको १० प्रतिशतबाट घटाई शून्य बनाउने र कर्पोरेट तथा सङ्गठनात्मक चन्दा पूर्ण रूपमा समाप्त गर्ने जेआइपीको प्रस्तावलाई समर्थन गर्ने सहमति जनाएको हो ।
त्यसैगरी, एलडिपीले संसद् सदस्यको सङ्ख्या घटाउने जेआइपीको मागलाई पनि स्वीकार गरेको बताइएको छ । यसलाई योशिमुराले गठबन्धन प्रवेशका लागि ‘असम्झौतायोग्य शर्त’ भन्नुभएको थियो ।
यदि ताकाइची प्रधानमन्त्री बन्नुभएको खण्डमा जेआइपीले मन्त्री पद नलिने तर पार्टीको तर्फबाट एक जना विशेष सल्लाहकारलाई सरकारमा समावेश गर्ने योजना रहेको टिभी असाहीले जनाएको छ ।
तर योमियुरी सिम्बुनका अनुसार योशिमुराले मन्त्री पद सम्हाल्ने कि क्याबिनेट बाहिरबाट मात्र सहयोग गर्ने भन्ने विषयमा अन्तिम निर्णय अझै नभएको स्पष्ट पार्नुभएको छ ।
एएफपीले यस विषयमा टिप्पणीका लागि सम्पर्क गर्दा एलडिपी र जेआइपीका अधिकारीहरू उपलब्ध हुन नसकेको जनाएको छ ।
यदि सम्झौता सोमबार औपचारिक रूपमा सम्पन्न भयो भने जापानको राजनीतिक इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्रीको उदय हुने सम्भावना वास्तविकतामा परिणत हुनेछ र यो देशका लागि ऐतिहासिक क्षण ठहरिनेछ । रासस, एएफपी