गुणबहादुर रोका
सुलीकोट, कात्तिक २ गते । उत्तरी गोरखाको चुमनुबी गाउँपालिकाको मनास्लु क्षेत्र घुम्न आउने पर्यटकहरूको घुइँचो लाग्न थालेको छ । पर्यटकियस्थल मनास्लु हिमाल, सामागाउँ, ल्हो, साम्दो, प्रोक, लार्केपास लगाएतका ठाउँमा दैनिक सयौ आन्तिरिक तथा बाह्रय पर्यटकहरूको लर्को नै लाग्न थालेको मनास्लु संरक्षण क्षेत्र आयोजना गोरखाका प्रमुख सन्तोष सेरचनले जानकारी दिनुभयो ।
अहिले भ्रमण तथा आरोहणको उपयुक्त समय सुरु भएसँगै असोज महिनामा मात्रै २ हजार ८ सय ६६ जना विदेशी पर्यटक उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका पुगेको मनास्लु संरक्षण क्षेत्र आयोजना गोरखाले जनाएको छ ।
उत्तरी गोरखाको चुमनुब्रीमा दैनिक सय जनाको हाराहारीमा विदेशी पर्यटकले चुमनुब्री क्षेत्र प्रवेश गरेको देखिन्छ, कार्यालय प्रमुख सन्तोष सेरचनले भन्नुभयो, ‘मनास्लु क्षेत्र विदेशी पर्यटकको रोजाईमा रहेको प्रमुख ट्रेकिङ रुट भएकाले उत्तरी गोरखामा भएका प्राय सबै होटेलहरू विदेशी पर्यटकहरूले भरिभराउ रहेको छ ।’
स्थानिय पर्यटन व्यावशायी छिरिङ दोर्जे लामाका अनुसार गत वर्षको तुलनमा यस वर्ष पर्यटकको आगमन झण्डै दोब्बर भएको छ । हिमाली दृश्य, प्राकृतिक सौन्दर्य, स्थानिय भेषभुषा र धार्मिक स्थलहरूले पर्यटकलाई आकर्षित गरेका कारण पर्यटको घुइँचो लागेको उहाँले बताउनुभयो ।
पर्यटक वृद्धिसँगै स्थानिय अर्थतन्त्रमा पनि उल्लेख्य सुधार आएकाले सामा गाउँ र ल्होका होमस्टे सञ्चालकहरूले अघिल्लो वर्षको तुलनमा यस पटक ३० देखि ४० प्रतिशत बढी आम्दानी भएसँगै गाउँका युवाहरूले गाइड, पोर्टर र होटेल व्यवसायमा समेत रोजगार पाएको होटले व्यावशायी छिरिङ देर्जे लामाले बताउनुभयो ।
मनास्लु संरक्षण क्षेत्र आयोजनाको अनुसार पर्यटकहरू यात्रा गर्ने पदमार्गहरू अहिले राम्रो अवस्थामा रहेको र सुरक्षा व्यवस्थापनमा पनि कडा पारि पर्यटकहरूलाई सुरक्षित यात्राका लागि स्थानिय गाइड अनिवार्य गरिएको पर्यटन व्यवसायी सानेबहादुर गुरुङको भनाइ छ ।
उत्तरी गोरखामा यतिबेला विभिन्न देशहरू अमेरिका, जर्मनी फ्रान्स, जापान र चीनका पर्यटकहरू बढी मात्रामा भएको एमक्याप गोरखाका प्रमुख सेरचनले बताउनुभयो । पर्यटन व्यवसायीहरूले भौतिक पुर्वाधार थप सुधार र प्रचारप्रसारमा ध्यान दिन सके उत्तरी गोरखा विश्वस्तरका पर्यटकिय गन्त्वयको रूपमा स्थापित हुने विश्वास गरिएको छ ।
मनास्लु संरक्षण क्षेत्र एमक्यापले विदेशी पर्यटकसँग ३ हजार, सार्क क्षेत्रका पर्यटकसँग १ हजार र नेपाली पर्यटकसँग २ सय शुल्क लिने गरेको कार्यालयले जनाएको छ ।