गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज २८ गते । इजिप्टमा आज (सोमबार) शान्ति शिखर सम्मेलन हुँदै छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इजिप्टका समकक्षी अब्देल फताह अल–सिसीले सार्म अल–सेखमा हुने गाजा शान्ति शिखर सम्मेलनको अध्यक्षता गर्दै हुनुहुन्छ । शिखर सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिवसहित विश्वभरका नेताले पनि भाग लिने कार्यक्रम छ ।
इजिप्टका राष्ट्रपति सिसीको कार्यालयका अनुसार रेड सी रिसोर्ट सहरमा हुने भेलाले २० भन्दा बढी देशका नेतालाई एकसाथ ल्याउने छ । सम्मेलनको उद्देश्य गाजा क्षेत्रमा युद्धको अन्त्य गर्नु, मध्यपूर्वमा शान्ति र स्थिरता स्थापित गर्नु र क्षेत्रीय सुरक्षा तथा स्थिरताको नयाँ युगको सुरुवात गर्नु रहेको छ । सम्मेलनमा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस, बेलायतका प्रधानमन्त्री किअर स्टार्मर, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सहभागी हुने घोषणा गर्नुभएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगन पनि सम्मेलनमा उपस्थित हुनुहुने छ ।
युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले प्रतिनिधित्व गर्नुहुने छ । एएफपीका अनुसार यो योजनाले न्यायपूर्ण र दिगो शान्ति निर्माण गर्ने वास्तविक अवसर प्रदान गर्दछ र
युरोपेली सङ्घ (इयु) यी प्रयासलाई समर्थन गर्न र यसको कार्यान्वयनमा योगदान दिन पूर्ण रूपमा प्रतिबद्ध छ ।
त्यसै गरी जोर्डनका राजा अब्दुल्लाह द्वितीय पनि सम्मेलनमा उपस्थित हुने अपेक्षा गरिएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भाग लिने वा नलिने भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन ।
हमासको राजनीतिक ब्युरोका सदस्य होसाम बद्रानले एएफपीलाई दिएको अन्तर्वार्तामा प्यालेस्टिनी लडाकु समूह संलग्न नहुने र गाजामा अघिल्लो वार्ताका क्रममा मुख्य रूपमा कतार र इजिप्टका मध्यस्थकर्तामार्फत काम भएको बताउनुभयो ।