• २७ असोज २०८२, सोमबार

अस्थायी र करार सेवाका कर्मचारी हटाउँदै पालिका

blog

धनकुटाको छथरजोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिका ।

कविराज घिमिरे  

हिले, असोज २६ गते । धनकुटाका दुई पालिकाले अस्थायी र करार सेवामा कार्यरत कर्मचारीको नियुक्ति र सम्झौता रद्द गरेको छ । महालक्ष्मी नगरपालिका र छथरजोरपाटी गाउँपालिकाले स्वास्थ्यकर्मी, शिक्षक तथा अन्य अस्थायी र करार सेवामा कार्यरत कर्मचारीको नियुक्ति र सम्झौता रद्द गरेका हुन् । 

महालक्ष्मी नगरपालिकाले शुक्रबार र छथरजोरपाटी गाउँपालिकाले  विज्ञप्ति निकाल्दै कर्मचारी हटाउने निर्णय गरेको जनाएका छन् । छथरजोरपाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रबहादुर घिमिरेले हस्ताक्षर गरेको विज्ञप्तिअनुसार कार्य सम्झौता खारेज भएको छ । 

त्यस्तै, महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि गुरागाईले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार आउँदो कात्तिक १ गतेदेखि सम्झौता खारेज हुने जनाइएको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज ८ मा “नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दीबाहेक अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने” निर्देशन जारी गरेको थियो । महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज रायले पालिकाको स्रोतबाट सेवा सुविधा वितरण गरिएका कर्मचारीलाई सङ्घीय सरकारको आदेशअनुसार सम्झौता रद्द गरिएको जानकारी दिनुभयो । 

शिक्षा र स्वास्थ्यतर्फका गरी करिब २५ कर्मचारी हटाइएको उहाँको भनाइ छ । पछि संस्था बन्द हुने अबस्था आएमा र कर्मचारीको माग भएमा केन्द्र सरकारसँग समन्वय गरी व्यवस्था गरिने उहाँको भनाइ छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनअनुसार अस्थायी र करार सेवाका सबै नियुक्ति र सम्झौता खारेज गरिएको छथरजोरपाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रबहादुर घिमिरेले बताउनुभयो । 

केन्द्रको निर्देशनअनुसार गाउँपालिकाले हालसम्म दरबन्दी बाहिर अस्थायी रूपमा नियुक्त भएका र करार सेवामा कार्यरत सबै कर्मचारीको सम्झौता मङ्गलबारदेखि लागु हुनेगरी खारेज गरिएको घिमिरेको भनाइ छ ।