• ७ जेठ २०८१, सोमबार

दसगजा क्षेत्रका स्थानीय भन्छन् ‘दुई देशमा भए पनि समाज एउटै छ’

blog

जीबछ यादव

लहान, असार १७ गते । नेपाल–भारत सीमा दसगजा क्षेत्रका स्थानीयले दुई देश भए पनि एउटै समाजमा आफूहरू रहेको बताएका छन् । भगवानपुर गाउँपालिका वडा नम्बर–४, ठाडीका स्थानीय खाना खाएर घरबाट निस्किएपछि भारतको लौकहामा नपुग्दै हात सुक्छ । यस्तै दसगजा पारि भारतका स्थानीय नेपालमा एक गाउँबाट अर्को गाउँ डुले जसरी आउने–जाने क्रम चल्छ । यस क्षेत्रमा बेटी रोटीको सम्बन्ध मात्रै होइन एक आपसमा दुःख सुखमा साथ दिने अभिन्न अङ्ग दसगजा क्षेत्र बनेको ठाडीका शिक्षक डोमी पासवान बताउनुहुन्छ । 

उहाँका अनुसार ठाडी नेपालमा लौकहा बजार भारतमा पर्छ, ठाडी र लौकहामा मतदान र सेवा सुविधा लिने समयमा मात्रै देश अगाडि आउँछ अरु बेला एउटै समाजका सदस्य रहेको अनुभूति गर्छन् यहाँका बासिन्दा । विवाह, भोज, सामाजिक, धार्मिक कार्य हुँदा नेपाल भारत ठाडी लौकहा दुवै देशका नागरिक एकै थलोमा बसेर सुख दुःख साट्छन् । यति मात्र नभई संस्कार र संस्कृति दुवै देशका नागरिकले मान्ने गरेको भारतबाट प्रकाशित प्रभात खबरका पत्रकार रतनकुमार चौधरीले बताउनुहुन्छ । 

“नेपाल–भारतको सम्बन्ध कस्तो छ ? दसगजा क्षेत्रमा मिलेर बसेका नेपाली र भारतीय नागरिकको एकता, सद्भाव र आपसी भाइचारा बारे बुझ्न सकिन्छ । नेपालतर्फ आउने पाहुनालाई भारतीय बजार घुमाइदिने, भारतबाट नेपाल आउने पाहुनालाई नेपालका सहर पहाड पर्वत देखाइ दिने हाम्रो परम्परा नै रही आएको छ । नेपाल–भारत दुवै देशका पत्रकारले यस विषयलाई महत्त्वका  साथ उठाउन पनि आवश्यक छ,” उहाँले भन्नुभयो । 

लहान स्थित जेएस मुरारका बहुमुखी क्याम्पसमा प्राध्यापक रहेका ठाडीका स्थानीय कन्हैया भट्ट भन्नुहुन्छ, “नेपाल–भारत दुवै देशका सशस्त्र प्रहरी, व्यापारी, नागरिकबीच रहेको सम्बन्ध यहाँ देख्न पाइन्छ । नेपालतर्फ कुनै विपत्ति आयो भने भारतीय बजार लौकहाका भारतीय सहानुभूति र सहयोग गर्न तयार रहन्छन् । भारतका लौकहा बजारमा पनि नेपालीको सहयोग चाहियो भने हामी जान्छाैँ। नेपाल–भारत दुवै देशको मुद्रा दुवै देशका स्थानीय बजारमा चल्छ, साटासाट हुन्छ र सम्बन्ध पनि प्रगाढ छ ।”