सन्तोष दहित
दाङ, असोज २६ गते । जेनजी आन्दोलनपछि नेकपा (एमाले) दाङले आइतबार पहिलो पटक दाङको घोराहीमा जागरण सभा गर्दै छ । सभाका लागि जिल्ला प्रशासन कार्यालय दाङले समेत स्वीकृति दिएको छ ।
सार्वजनिक सम्पत्ति, कार्यालय, निजी निवास, व्यवसायमा हुने आगजनी, तोडफोड र लुटपाटजस्ता आपराधिक गतिविधिविरुद्ध जनचेतना अभिवृद्धि गर्न जागरणसभा गर्न लागेको नेकपा (एमाले) दाङले जनाएको छ ।
वर्तमान राजनीतिक परिस्थितिले देशलाई अराजकता र अस्थिरतातर्फ धकेल्ने खतरा बढेको भन्दै त्यसविरुद्ध जनचेतना फैलाउने उद्देश्यले खबरदारीसभा गर्न लागिएको नेकपा (एमाले) दाङ जनसङ्गठन समन्वय संयन्त्रका संयोजक मनोहर बुढाथोकीले जानकारी दिनुभयो ।
“विधिको शासनको रक्षा, संविधानको कार्यान्वयन, राष्ट्रिय हितको संरक्षण र अराजकताविरुद्ध जनसहभागिता जुटाउने अभियानअन्तर्गत यो खबरदारी सभा आयोजना गर्दै छौं ।’’ उहाँले भन्नुभयो, ‘‘हाम्रो खबरदारी सभा शान्तिपूर्ण हुने छ, त्यसका लागि स्थानीय प्रशासनले हामीलाई अनुमति दिएको छ ।’’ उहाँका अनुसार घोराहीको ट्राफिकचोकमा जम्मा भई घोराहीको तुलसीपुर चोकमा पुगेर खबरदारी सभा सकिने छ ।
यसैबिच एमालेले गर्न लागेको सभाको शान्ति सुरक्षाका लागि स्थानीय प्रशासनबाट निर्देशन जिल्ला प्रहरी कार्यालय दाङ प्रमुख एसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो । त्यही अनुसार खबरदारी सभामा जनपथ र सशस्त्रले सुरक्षाको वातावरण बनाउन लागि रहेको बताउनुभयो ।