• २३ असोज २०८२, बिहिबार

चयनमा रमाएको चैनपुर सहर

blog

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङको सदरमुकाम हो चैनपुर । चैनपुर अर्थात् चयनपुर जिल्लाको मुख्य सहर बजारमा पर्दछ । उल्लिखित देउडा गीतका दुई हरफले चयनपुर बजारको इतिहास र अवस्थालाई चित्रण गरेको छ । 

साइपाल हिमालबाट आउने सेती नदी र बाहुली गाड दुई नदीले  बेरेर राखेको चैनपुर बजार उच्च भूभागबाट हेर्दा थाल आकारको देखिन्छ । परापूर्वकालदेखि नदीले मलिलो माटो थुपार्दै गरेकाले होला चैनपुर क्षेत्र अन्न उब्जाउका लागि उर्वर भूमि मानिन्छ । 

बजारको पूर्वपश्चिम भएर सेती र उत्तर भएर बाहुली गाड बग्छ । प्राकृतिक भूबनावटसँगै नदीले घेरिएकाले रमणीय दृश्य त्यहाँ देखिन्छ । चैनपुर बजार जिल्लाको प्रमुख व्यापारिक क्षेत्र मात्र नभई प्रशासनिक केन्द्र पनि हो । 

चैनपुर बजार नगरपालिकाको वडा नम्बर १० मा पर्छ । नदी किनार वरपर सम्म परेका खेतका फाँट, चारैतिर अग्ला पहाड र बाक्लो मानव बस्तीसँगै हरियाली जङ्गलका कारण चैनपुर अत्यन्त आकर्षक देखिन्छ । बझाङको उत्तर नाका चीनसँग जोडिएको छ । भारत–चीन जोड्ने सेती लोकमार्ग चैनपुरसँग जोडिएको छ ।

मानवतावादी राजा एवं शिक्षासेवी जयपृथ्वीबहादुर सिंहका कारण पनि बझाङ चिरपरिचित छ । बझाङी राजा जयपृथ्वीबहादुर सिंहले शिक्षाको बीजारोपण यहीँ चैनपुर नजिकको भोगपुर दरबारबाट सुरु गरेका थिए । 

सुदूरपश्चिममा शिक्षाको जग बझाङबाट बसेको थियो । राणा शासनकालमा १९६२ सालमा काठमाडौँको नक्सालमा रहेको आफ्नै घरमा सत्यवादी पाठशाला उनले खोलेका थिए । खोलिएको सत्यवादी हाइस्कुल राणाहरूले बन्द गर्ने धम्की दिएपछि उनले चैनपुरको भोगपुरमा १९७० सालमा पाठशाला स्थापना गरे । त्यो बझाङको पहिलो पाठशाला भयो । 

देवनागिरी भाषाको पहिलो पाठ्यपुस्तक अक्षराङ्क लेख्ने व्यक्ति हुन्  जयपृथ्वी बहादुर । सत्यवादीमा शिक्षा लिन जुम्ला, दैलेख, कालीकोट, अछाम, बाजुरा, डोटी, डडेलधुरा र बैतडीबाट विद्यार्थी आउने गरेका थिए । 

चैनपुरको नाम कसरी रहन गयो भन्नेमा धेरै किंवदन्ती  रहेका छन् । चैनपुरको पुरानो नाम कुमाल तडो थियो भने भोगपुर दरबार क्षेत्रको स्थानलाई कोलडाँड भनिन्छ । कुमाल तडोमा कुमाल थर भएका समुदाय बस्ने भएकाले कुमाल तडो भनिएको हुन सक्छ । त्यहाँ थापाहरू पनि बस्थे । 

तर विव्रmम संवत्को १४ औँ र १६ औँ शताब्दीमा दुई पटक सेती नदीले कुमाल तडोलाई बगाएर सम्म पारिदिएपछि बगर बनेको भूभागलाई चैनपुर भन्न थालिएको इतिहास छ । चयनको अर्थ आराम र पुरको अर्थ बस्ती वा नगर भएकाले चयनपुर हुँदै चैनपुर नामकरण गरिएको भन्छन् स्थानीय बुद्धिजीवी विष्णुभक्त शास्त्री । 

सेती नदी र बाहुली गाडको दोभानका रूपमा रहेको यो क्षेत्र नदीका कारण सधैँ अशान्त हुने तर पछि बाढी आएपछि शान्त बनेको र आराम गर्न वा मन प्रफुल्लित बनाएर बस्न चैनपुर ‘चयन’ को ठाउँ भएकाले बझाङका तत्कालीन राजा देवीजङ्गबहादुर सिंहले चैनपुर नामकरण गरेको भनाइ शास्त्रीको छ ।

बगरलाई खेती लगाउन योग्य जमिन बनाउन र मानवबस्ती बसाल्न राजा देवीजङ्गको योगदान अतुलनीय छ । स्थानीय पडेस जिउलो, सेराखेत र चौँरी खेत बराबरको उचाइमा रहेको चैनपुर भूबनावटका दृष्टिकोणले गहिराइमा भएको बस्तीका रूपमा देखिन्छ । 

बझाङका पहिलो राजा गजराजले सुमी राज्यमा घर बनाउन नपाएपछि देवलको मन्दिर भत्काएर हाल हात्तीसार दरबारको नामले परिचित स्थाननजिक इँटा कारखाना खोली भवन बनाएका थिए । जयपृथ्वी नगरपालिका प्रमुख चेतराज बजालका अनुसार राजाले घर बनाएपछि विस्तारै चैनपुर क्षेत्रमा मानवबस्ती विस्तार भएको थियो । 

उनका सन्तान राजा देवीजङ्गबहादुरले हात्तीसार दरबार, तमैल दरबार, भोगपुर दरबार गरी तीन दरबार बनाएका थिए । ती दरबार १९९० सालबाट निर्माण सुरु गरी १९९६ सालमा निर्माण सम्पन्न गरिएको इतिहास छ । 

राजा गजराजले विक्रम संवत्को १८ औँ शताब्दीमा बझाङका तीन राज्य थलारा, डुम्राकोट र सुमीमध्ये थलारा, सुमी राज्य जितेपछि राजधानी छबिसकोटबाट भोगपुर सारेको तथ्य इतिहासमा समेटिएको छ । राजा गजराजले दाइजोमा पाएको हात्ती हालको जिल्ला प्रशासन कार्यालय नजिकै बाँध्ने गरेका थिए । पछि सो ठाउँको नाम नै हात्तीसार रहन गयो । 

पञ्चायतकालमा बान्नी पाटागाउँ रहेको सदरमुकाम २०२५ सालमा राजा चन्द्रजङ्गबहादुर सिंहले चैनपुर सारे । त्यसपछि सरकारी कार्यालयसमेत चैनपुर सारिए । प्रशासनिक कामकारबाहीसँगै व्यापारिक चहलपहल बढ्न जाँदा चैनपुर बझाङको प्रमुख व्यापारिक क्षेत्र नै बन्न पुग्यो । 

विगतमा बझाङ बाइसे/चौबिसे राज्यमध्येको एक शक्तिशाली राज्य थियो । बझाङ राज्यमा ६१ जना राजाले राज्य गरेको इतिहास छ । जसमा पहिलो राजा थिए शक्ति सिंह र अन्तिम राजा भए ओमजङ्गबहादुर । 

२०१८ सालभन्दा अघि बझाङ, अछाम र बाजुराको केही भूभाग डोटी जिल्लामा गाभिएका थिए । प्रशासनिक कामकारबाही डोटी गौँडाबाट गर्नुपर्ने बाध्यता थियो । पछि डोटीको उत्तरी भाग थलारासहित केही भाग टुक््याएर २०१९ सालमा वर्तमान नापनक्साको बझाङ निर्माण गरियो । 

ऐतिहासिक कालखण्डदेखि नै चर्चित बझाङ कृषि उत्पादन, पर्यटन, खेतीपाती, पशुचौपाया पालनका दृष्टिले उत्कृष्ट गन्तव्य मानिन्छ । ठकुरी, क्षेत्रीलगायत विभिन्न समुदायले कुल देउताका रूपमा पुज्ने मष्टो (खापर) लोकप्रिय छ । 

हाल चैनपुर–धनगढी, चैनपुर–नेपालगन्ज सिधा हवाई उडान सेवा रहेको छ । हवाई उडान र सडक यातायातको सुविधाका कारण चैनपुर पर्यटकीय क्षेत्रसमेत बनेको छ । यति मात्र होइन समग्र बझाङले नै पर्यटकीय महìव बोकेको छ । साइपालदेखि दर्जनौँ हिमशृङ्खला यहाँ छन् । त्यस्तै धार्मिक एवं सांस्कृतिक, ऐतिहासिक स्थलमा साइपाल हिमाल क्षेत्र, सुर्मासरोवर क्षेत्र, खप्तड क्षेत्र, बित्थड क्षेत्र, तपोवन ज्वाला, तातोपानी, खापरदह, ऋषिकुण्ड, कैलाशगुफा, सुर्मादेवी मन्दिर, माइकाथान, खप्तडबाबा कुटी, खापरमाणु, मष्टामाणु, नवादेवमाणु, कालिका, नाननदेव, वडीज्यावल बाह्रदेउ मन्दिर आदि यहाँ छन्   ।

साइपालका अतिरिक्त आर्या हिमाल, जेठी–बहुरानी हिमाल, नाम्पा हिमाल, योगा हिमाल, व्यास हिमाल, उरइ–भन्ज्याङ हिमाल, राक्से हिमाल, दुवै–भन्ज्या हिमाल, राइढुङ्गी– भन्ज्याङ हिमाल पनि छन् । 

जोखिममा छ चैनपुर 

चैनपुर बजार बाढी र डुबानको उच्च जोखिममा छ । नदीले जमिन कटान गरिराख्ने भएकाले कुनै कालखण्डमा बगरमा परिणत हुन सक्ने सम्भावना देखिन्छ । बजार क्षेत्र संरक्षणका लागि नदीको कटान नियन्त्रण अनिवार्य भएको छ । केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय पालिकाले लाखौँ रकम खर्च गरे पनि नदी कटान रोकिएको छैन ।   

–युवामञ्च