• २३ असोज २०८२, बिहिबार

पुनर्स्थापनाको माध्यम खुला कारागार

blog

विकसित समाजमा कैदीबन्दीलाई केवल तारजाली लगाएको अग्लो पर्खालभित्र सीमित राख्ने मात्र नभई विभिन्न काममा लगाउने विधि, अभ्यास हुन थालेको छ । यसको उद्देश्य अपराधी/आरोपितमा सुधार, उनीहरूलाई समाजमा पुनर्स्थापना तथा जेलमा भिड कम गर्नु पनि हो । यसो गर्दा उनीहरूको श्रम शक्तिमा ह्रास आउँदैन तथा भएको सिप, क्षमता र कलाको सदुपयोग भएर व्यक्तित्व विकास र आयआर्जन बढाउन योगदान पुग्दछ । 

नेपालमा भने यो विषय अझै प्रारम्भिक चरणमा छ । कारागार ऐन २०७९ ले पनि कैदीले राम्रो आचरण देखाएमा श्रम कार्यमा पठाउन सकिने व्यवस्था गरेको छ । ऐनको दफा ४१ मा खुला कारागारसम्बन्धी व्यवस्था पनि छ । 

कारागार ऐन, २०१९ को दफा २ को परिभाषा अनुसार कारागार भन्नाले कैदी वा थुनुवालाई कैद गर्नका निमित्त बनेको घर, कोठा वा त्यस्तै अरू कुनै स्थान वा जग्गालाई समेत जनाउँछ । सामान्य भाषामा कारागारलाई जेल र थुना भन्ने गरिन्छ ।

मानिसको व्यवहारलाई नियन्त्रणमा वा निश्चित सीमामा बाँधेर राख्ने नियम चाहिँ कानुन हो । कसैले कानुन अवहेलना गर्छ भने उसले सजायको भागिदार बन्नु पर्छ ।  कानुनको यही व्यवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको प्रणाली हो कारागार । 

एक यस्तो समय पनि थियो जुनबेला दोषीप्रति प्रतिशोध नै न्याय मानिन्थ्यो । सार्वजनिक बेइज्जती, गाउँ वा देश निकाला, मृत्युदण्ड आदि दण्ड सजाय कठोर मानिन्थे तर आजको आधुनिक युगमा समाजले पुनर्स्थापनात्मक न्यायको बाटो रोज्दै गएको छ । 

अपराध गर्नेलाई पनि मर्यादित जेल जीवन, श्रम, सिप विकास तथा सुधारको पहलले कैदीबन्दीलाई असल मानिसका रूपमा पुनस्र्थापित गर्दै लगिएको इतिहाससमेत छ । विश्वका धेरै मुलुकले आफ्नो कारागार प्रणालीमा ठूलो परिवर्तन ल्याएका छन् । 

खुला कारागारमा रहेका बन्दीलाई तोकिएका काममा खटाउन सकिने र काम गरेबापत योगदानका आधारमा नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी पारिश्रमिक उपलब्ध गराउनुपर्ने व्यवस्था छ । खुला कारागारसम्बन्धी कानुन बनेको चार वर्ष बिते पनि यो कार्यान्वयनमा आउन सकेको छैन । 

कैदीबन्दीले भरिभराउ कारागार 

सन् २०२५ सम्मको तथ्याङ्क हेर्दा देशभर ७५ कारागार (जेल) मा २९ हजार ४८४ कैदीबन्दी रहेका छन् । ती कारागारको क्षमता भने १८ हजार ५७२ मात्र कैदीबन्दी राख्न सक्ने हो । 

कैदीबन्दीको भिडका कारण कारागार नै अपराधको अखडा बन्ने गरेको छ । कारागार व्यवस्थापन विभागका अनुसार कारागार सुधारको प्रारम्भिक चरणमा नुवाकोट जिल्लाको खम्पा क्याम्पमा खुला कारागार निर्माण गरिएको छ । 

उक्त कारागारमा गत वर्ष साउनदेखि १४७ कैदी स्थानान्तरण गरिएको पनि छ । एकै स्थानमा धेरै कैदीबन्दी राख्दा बेला बेला विभिन्न समस्या उत्पन्न हुने गरेको छ । यसको पछिल्लो उदाहरण हो कैलाली जेलमा बारम्बार हुने गरेको झडप । 

अन्य जिल्ला कारागारमा पनि यस्तै अप्रिय घटना हुने गरेका छन् । कैदीबन्दीले नै समूह बनाएर एकआपसमा ग्याङ फाइट गर्ने, लागुऔषध बेचबिखन गर्ने जस्ता समस्या जेलमा बढेका छन् । 

राष्ट्रिय मानव अधिकार आयोगले नेपालका कारागारलाई बङ्गुर थुन्ने खोरभन्दा खराब ‘अवस्था’ को भनेको छ । कैदीबन्दीलाई न्यूनतम मापदण्ड अनुसारका सुविधा पनि त्यहाँ नभएको आयोगको भनाइ छ । 

परम्परागत अनुसन्धान पद्धति, साबिती बयानका आधारमा अभियोजन गर्ने प्रचलनका कारण हिरासतमा मानव अधिकारको पूर्ण प्रत्याभूति हुन नसकेको आरोप लाग्दै आएको छ । भौतिक स्रोतसाधनको अभाव, दैनिक उपलब्ध गराउने रासन र सिदा खर्च महँगी अनुरूप नभएको, क्षमताभन्दा अधिक बन्दी राख्नुपर्ने बाध्यता जस्ता कारणले हिरासत र कारागारमा रहने कैदीबन्दीले आधारभूत मानव अधिकारबाट वञ्चित रहनु परेको जानकारी दिन्छन् आयोगका प्रवक्ता डा. टीकाराम पोखरेल । 

कारागारको इतिहास 

नेपालमा कारागारको इतिहास धेरै लामो त छैन । विसं १९७१ मा सुरु गरिएको सदरजेल हालको केन्द्रीय कारागार जगन्नाथदेवल पहिलो कारागार हो । 

कानुनी रूपमा कारागारसम्बन्धी व्यवस्था गर्न कारागार ऐन, २०१९ निर्माण भई ऐनको दफा २७ ले दिएको अधिकार प्रयोग गरी कारागार नियमावली २०२० तर्जुमा भै लागु भएको थियो । कारागार व्यवस्थापन तथा प्रशासनसम्बन्धी कार्यलाई प्रभावकारी एवं सवल बनाउन २०५० साल साउनबाट गृह मन्त्रालय अन्तर्गत कारागार व्यवस्थापन विभागको स्थापना भएको थियो ।

कारागारसम्बन्धी विश्वको अभ्यास 

नर्वेको ओस्लो नजिकैको हल्डेन जेललाई विश्वको सबैभन्दा पुरानो मानव कारागार भनिन्छ । कैदीबन्दीलाई बगैँचाको सरसफाइ, काठको काम, सिप/कला, गीत/सङ्गीत र कुकिङ ट्रेनिङमा संलग्न गराइन्थ्यो । 

अमेरिकाको केही राज्यमा कैदीलाई सडक तथा भवन निर्माण, सरसफाइ, कृषि र निजी कम्पनीमा काम गर्न पठाइने गरेको थियो । हाल जापानमा कैदीलाई खेतीकिसानी, कल कारखाना, अन्य उत्पादन कार्यमा र हस्तकलामा लगाउने गरिएको छ । यस्तै नेपालमा पनि कतिपय कारागारमा सिलाइकटाइ, हस्तकलालगायतका सिप सिकाउने गरिएको छ । 

सुधारको बाटो 

कैदीबन्दीलाई खुला कारागारको मान्यता अनुसार काममा लगाइने विश्वमा धेरै उदाहरण छन् । त्यहाँ कैदीको सिप, ज्ञान, क्षमता र श्रम खेर जाँदैन । उनीहरू असल नागरिक भएर समाजमा पुनस्र्थापित हुने मार्ग खुल्छ ।  

कारागारबाहिर काममा खटाइने कैदीहरू कृषि र पशुपालन, अन्नबाली, तरकारी खेती, फलफूल खेती, डेरी फार्म, सडक र भवन निर्माण, पुल मर्मत, सार्वजनिक सरसफाइ तथा पार्क, नदी किनार, सडक सफाइ, हस्तकला, कपडा, फर्निचर, माटोका भाँडा, चित्रकला र खाना पकाउने, होटेलमा हाउसकिपिङ, क्याटरिङलगायत सबै काम गर्न सक्छन् । 

खुला कारागार लाभैलाभ 

कैदीलाई बाहिर काममा खटाउँदा फाइदा र घाटा दुइटै छन् ।  पुनस्र्थापना र पुनः सामाजीकरण तथा बाहिरको वातावरणमा काम गर्दा कैदीले सामाजिक सिप र व्यवहार सुधार्ने मौका पाउँछन् । जेलपछि जीवनमा पुनस्र्थापित हुन सजिलो हुन्छ । आत्मसम्मान र मानसिक स्वास्थ्य सुधारमा यस्तो कार्यक्रमले सकारात्मक भूमिका खेल्दछ । 

राज्यलाई राजस्व वा आर्थिक योगदानमा ठूलो राहत हुन्छ । कामबाट आउने आम्दानी आंशिक रूपमा जेल सञ्चालन, पीडितलाई क्षतिपूर्ति वा कैदीको परिवारलाई सहयोगमा प्रयोग गर्न सकिन्छ । कैदीलाई स्थिर रोजगारीको अनुभव मिल्दा फेरि अपराध गर्ने सम्भावना घट्ने विभिन्न अनुसन्धानले देखाएको छ । 

सुधार र परिणाम

विश्वमा करिब एक करोड २० लाख कैदीबन्दी जेलभित्र सजाय बेहोरिरहेका छन् । रुस, चीन र उत्तर कोरिया जस्ता मुलुकले कैदीलाई श्रम शिविर पठाउने गरेकाले कैदीबन्दीको यो सङ्ख्या बढी भएको अनुमान गर्न सकिन्छ । सन् २०२४ मा अमेरिकामा लगभग १८ लाख, चीनमा १७ लाख, ब्राजिलमा आठ लाख ४० हजार, भारतमा पाँच लाख ७३ हजार, रुसमा चार लाख ३३ हजार कैदीबन्दी रहेका थिए । 

शिक्षा र सुधार

सरकारले कैदीबन्दी सुधारका लागि प्रत्येक कारागारमा लागू गरेको जेल शिक्षा कार्यक्रमले क्रूर अपराध गर्नेलाई असल मानिसमा रूपान्तरित गर्ने देखिएको छ । विशेष गरी नर्वे, स्विडेनको कारागार मोडेल नेपालले सिक्नुपर्ने सुझाव दिन्छन् पूर्व प्रहरी नायब उपरीक्षक विजय कुँवर । 

–युवामञ्च