• ५ असोज २०८१, शनिबार

वडा अध्यक्षहरुद्वारा डल्लो बजेट माग

blog

कैलारी गाउँ सभाका सदस्यहरु । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, असार १६ गते । कैलालीको कैलारी गाउँपालिकाका वडा अध्यक्षहरुले वडामा डल्लो बजेट माग गर्नु भएको छ । छरिएको बजेटले जनताको चाहना अनुसार वडामा विकास गर्न नसकिने भन्दै उहाँहरुले वडामा डल्लो बजेट माग गर्नु भएको हो । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट सार्वजनिक गर्दा वडालाई सम्पूर्ण जिम्मेवारी लाद्न खोजेको तर बजेट भने टुक्रे दिएको वडा अध्यक्षहरुको भनाइ छ । 

बिहीबार बसेको गाउँ सभा बैठकमा उहाँहरुले वडाको समुचित विकासका लागि डल्लो बजेट पाउनु पर्ने सबैको साझा आवाज रहेको उल्लेख गर्नुभयो । ‘डल्लो बजेट दिएमा हामी आफ्नै तरिकाले छ महिनामै योजनाका काम गर्न सक्छौं’, वडा नम्बर १ का वडा अध्यक्ष ध्वजहरिपाल बोहराले भन्नुभयो । ‘यदि, छरिएको योजनाका लागि बजेट दिने हो भने पाँच वर्षसम्म हामी जनताको विकासको चाहनालाई पूरा गर्न सक्दैनौं ।’

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि विषयगत समितिलाई दिएको बजेट पनि चित्त नबुझेको बोहराको भनाइ थियो । उहाँले कुनै ठोस योजनालाईमात्रै फोकस गरेर बजेट खर्च गर्न आवश्यक रहेको जिकिर गर्नुभयो । ‘हेर्दाखेरी अहिलेको बजेट पनि विगतको जस्तै छरिएको छ’, बोहराले भन्नुभयो । ‘तर, मेरो भनाइ कुनै ठोस योजनामामात्रै फोकस गरेर खर्च गरौं भन्ने हो ।’ 

वडा अध्यक्षहरुले वडालाई भूगोल र जनसङ्ख्याको आधारमा दामाशाहीका हिसाबले डल्लो बजेट राख्न जोड दिनु भएको छ । ‘छरपस्ट पारेर दिएको बजेटले हामी जनताको आवश्यकताका आधारमा पूर्वाधार विकास गर्न सक्दैनौं’, गाउँपालिकाका प्रवक्तासमेत रहनु भएका वडा नम्बर ७ का वडा अध्यक्ष दीपेन्द्र बमले भन्नुभयो । ‘वडालाई डल्लो बजेट राखिनुपर्छ । त्यसलाई हामी वडा प्रतिनिधिले आवश्यकताका आधारमा वडाकै चाहनानुसार खर्च गर्छौ ।’ 

गाउँपालिकाले पाँच वर्षभित्र मानव बस्ती रहेकासहित महत्वपूर्ण सबै बाटोलाई ग्राभेलयुक्त बनाउने लक्ष्य लिएको छ । ग्रामीण धेरै बाटाहरु विगतमै ग्राभेल भइसकेका छन् । तर, पनि अझै भनिए अनुसार ग्राभेल गर्नका लागि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि सबै वडालाई छुट्टाएको कूल ३० लाख बजेट अपुग हुने वडा नम्बर ५ का वडा अध्यक्ष विष्णुप्रसाद चौधरीले बताउनुभयो । ‘नौ वटै वडालाई बाँड्ने हो भने तीन/तीन लाखमात्रै भाग पर्छ’, उहाँले भन्नुभयो । ‘समपूरक कोष र लक्षित वर्गको कार्यक्रमबाट केही बजेट यसमा हालौं । र, वडालाई डल्लो बजेट दिउँ ।’ 

नेपाली काङ्ग्रेसको एकलौटी सरकार रहेको सो गाउँपालिकामा प्रस्तुत बजेटको सवालमा भने वडा अध्यक्षहरुको फरक मत देखिएको छ । गाउँपालिकाले वडालाई डल्लो बजेट नदिए आफ्नो वडामा आफै डल्लो बजेट बनाएर खर्च गर्ने वडा नम्बर ९ का वडा अध्यक्ष खेमराज चौधरीले जिकिर गर्नुभयो । ‘यदि, भूगोल र जनसङ्ख्याको आधारमा दामाशाहीका हिसाबले डल्लो बजेट आएन भने म मेरो वडामा आफ्नै तरिकाले बजेट बनाएर कार्यान्वयन गर्नेछु’, उहाँले भन्नुभयो । 

डल्लो बजेटको माग गर्दै वडा अध्यक्षहरुले गाउँ सभामै आवाज उठाएपछि गाउँ कार्यापालिकाले त्यसमाथि छलफल गर्ने जनाइएको छ । शुक्रबार बस्ने गाउँ कार्यपालिकाको बैठकमा डल्लो बजेटका बारेमा छलफल गरिने गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले बताउनुभयो । ‘वडा अध्यक्षहरुको मागलाई लिएर छलफल गर्छौ’, उहाँले भन्नुभयो । 

गाउँसभामा वडा अध्यक्ष प्रेमबहादुर चौधरी, ठागुरा चौधरी, गाउँ सभा सदस्यहरु जगमा चौधरी, तुल्सीप्रसाद चौधरी, सैतुराम चौधरी, माघुराम चौधरी, मोहनलाल चौधरी, तुल्सीप्रसाद चौधरी, आशिक चौधरी र कृष्णीदेवी दमाईले बोल्नु भएको थियो ।