• २३ असोज २०८२, बिहिबार

देशभर कृषि तथा पशुपालनमा क्षतिको विवरण संकलन गरिँदै

blog

काठमाडौँ,  असोज २२ गते ।  कृषि तथा पशुपंछी विकास मन्त्रालयले हालै भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गर्न सुुरू गरेको छ । मन्त्रालयले सातै प्रदेशबाट क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरी केन्द्रमा पठाउन निर्देशन दिएको हो ।  

बाढीबाट नोक्सान भएको कृषि वस्तुको प्रकार, परिमाण, पशुपंक्षीको नोक्सानी, गोठमा भएको क्षतिको अवस्था तथा व्यावसायिक फार्म, प्रभावित कृषकको अवस्थाबारे विवरण सङ्कलन गरिने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो । मन्त्रालय मातहतका सबै प्रदेशमा रहेका कृषि कार्यालयले सम्बन्धित स्थानीय तहको समन्वय र सहयोगमा क्षतिको तथ्याङ्क सङ्कलन गरिने छ ।

बाढीका कारण कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलनपछि तथ्याङ्कको आधारमा किसानले गरेको योगदानको मूल्याङ्कन गरी सम्बन्धित किसानलाई आवश्यकताअनुसार सहयोग तथा सुविधा उपलब्ध गराइने छ । 

मन्त्रालयले किसानले बाली तथा पशु धनमा बिमा गरेको भए त्यसको सहजीकरण मल, बिउ विजन, प्रविधि, प्राविधिक सिपलगायतमा सहयोग उपलब्ध गराउने तथा आवश्यकता भएको स्थानमा क्षतिपूर्ति समेत उपलब्ध गराउने जनाएको छ । 

विवरण प्राप्त भएपछि तथ्याङ्कका आधारमा आगामी दिनमा थप सतर्कता तथा जोखिम न्यूनीकरणका उपायसम्बन्धी अध्ययन तथा अनुसन्धान गरी विस्तृत रूपमा योजना निर्माण र कार्यान्वयन गरिने सूचना अधिकारी जोशीले जानकारी दिनुभयो । रासस