जनार्जन खत्री
सर्लाही, असोज २१ गते । गएको शनिबार रातिको बाढीले सर्लाहीको कौडेना गाउँपालिका–३, पर्सामा पूर्व–पश्चिम हुलाकी सडक बगाएपछि बाँस र पटाको लच्का बनाइएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएर मङ्गलबार बिहान अस्थायी लच्का निर्माण गरेका हुन् । उक्त लच्काबाट मङ्गलबार मध्यान्हदेखि मानिस, साइकल र मोटरसाइकल आउजाउ गर्न थालिसकेका सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
सिडिओ श्रेष्ठका अनुसार चारपाङ्ग्रे सवारी साधनलाई समेत डाइभर्सन निर्माण गरेर वारपार गराउने व्यवस्था मिलाउन पहल भइरहेको छ । शुक्रबार रातिदेखिको अविरल वर्षाले शनिबार राति लखन्देही खोलामा ठुलो बाढी आउँदा कौडेना र फूलपरासीको बिचमा पर्ने पर्सा टोलमा १५० मिटर पूर्व–पश्चिम हुलाकी सडक बगाएको छ ।
मुख्य सडक नै बगाएपछि सर्लाहीको दक्षिण–पश्चिम भेगमा पर्ने कौडेनासहित गोडैता नगरपालिका, बलरा नगरपालिका, विष्णु गाउँपालिका, धनकौल गाउँपालिका र रामनगर गाउँपालिकाका वासिन्दालाई सदरमुकाम मलङ्गवासम्म आउजाउ गर्न समस्या परिरहेको छ ।
कालोपत्रे सडक बगाएपछि स्थानीय केही युवा मिलेर सोमबार बिहानदेखि बाँस र पटाको लच्का बनाइ शुल्क उठाएर पैदलयात्रु, साइकल र मोटरसाइकल तार्ने व्यवस्था मिलाएका थिए ।
लच्काबाट तारिदिए बापत प्रतिव्यक्ति १० रुपियाँ, साइकलको २० रुपियाँ र मोटरसाइकलको १०० रुपियाँ लिने गरेका छन् । यसरी शुल्क उठाएर लखन्देहीको भेल तार्न थालिएको समाचार चौतर्फी फैलिएपछि स्थानीय प्रशासनले सोमबार बेलुकादेखि नै पैसा उठाउन रोक लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले पैसा उठाइएको गुनासो आएपछि तत्काल त्यसलाई बन्दगरी आज बिहान सुरक्षाकर्मी परिचालन गरी अस्थायी रूपमा बाँस र पटाको लच्का बनाइएको बताउनुभयो । हुलाकी सडक बगाएर आवतजावत रोकिएपछि हुलाकी सडक आयोजना जनकपुरका प्रमुख कृष्ण महतोसहितको टोली मङ्गलबार कौडेना आइपुगेको छ ।
महतोले तत्काल नजिकै डाइभर्सन निर्माण गरेर सवारी साधन आवत–जावतको व्यवस्था मिलाएर सडक निर्माणको काम अघि बढाइने जानकारी दिनुभएको छ ।