सहदेव बस्नेत
जाजरकोट, असोज २१ गते । जाजरकोटमा नेपाली सेनाको हेलिकाेप्टरमार्फत एक गम्भीर घाइतेको उद्धार गरिएको छ । रुकुमपश्चिम सानीभेरी गाउँपालिका–४ घर भई हाल जाजरकोट भेरी नगरपालिका–१, रिम्नामा बिसि फर्निचर उद्योगका सञ्चालक ५४ वर्षीय नन्दराम बुढालाई उद्धार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी हरिराम डाङीले आफ्नै फर्निचर उद्योगमा काम गर्ने सिलसिलामा विद्युतीय आरा मेसिनमा पर्न जाँदा निजको पेट काटिएर गम्भीर घाइते भएको जानकारी दिनुभयो ।
घाइते भई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको, तर उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकाेप्टरद्वारा सुर्खेत पठाइएको सूचना अधिकारी डाङीले बताउनुभयो ।