सियोल, असोज २० गते । उत्तर कोरियाली नेता किम जोङ उनले देशको नयाँ युद्धपोतको निरीक्षण गर्दै पाँच हजार टन क्षमताको विध्वंसकले ‘शत्रुको उक्साहटलाई दण्ड दिन सक्षम हुनुपर्छ’ भन्नुभएको राज्य मिडियाले सोमबार जानकारी दिएको छ ।
‘चो ह्योन’ नामक यो युद्धपोत उत्तर कोरियाको शस्त्रागारमा रहेका दुई हजार टनका विध्वंसक मध्ये एक हो, जुन किमले नौसेना शक्ति विस्तार गर्ने रणनीतिअन्तर्गत यसै वर्ष प्रक्षेपण गर्नु भएको हो । “यो युद्धपोत हाम्रो सशस्त्र बलको विकासको स्पष्ट प्रदर्शन हो”, किमले आइतबार निरीक्षणका क्रममा भन्नुभएको केसिएनएको समाचारमा जनाइएको छ ।
उहाँले भन्नुभयो, “राज्यको सार्वभौमसत्ताको रक्षाका लागि शत्रुको कुनै पनि उक्साहटलाई रोक्न, प्रतिरोध गर्न र सजाय दिन विशाल समुद्रमा हाम्रो नौसेनाको अपार क्षमता प्रयोग गर्नुपर्छ ।” किमले आगामी वर्षको अक्टोबरसम्म यस्तै श्रेणीको तेस्रो विध्वंसक निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
दक्षिण कोरियाली सेनाका अनुसार ‘चो ह्योन’ युद्धपोत युक्रेन युद्धमा मस्कोलाई समर्थन स्वरूप उत्तर कोरियाले आफ्ना हजारौँ सैनिक पठाउने सर्तमा रुसी सहयोगमा विकसित गरिएको हुन सक्ने अनुमान गरिएको छ । केसिएनएका तस्बिरमा किमलाई युद्धपोतको नियन्त्रण कक्षभि, कोरियाली प्रायद्वीप वरिपरि समुद्र देखाउने मोनिटर निरीक्षण गरिरहनुभएको देखिन्छ ।
अर्को तस्बिरमा उहाँले सैन्य जनरलहरू सामु नक्सामा औँल्याउँदै निर्देशन दिइरहनुभएको देखिन्छ । किमको यो भ्रमण उहाँले दक्षिण कोरियामा अमेरिकी हतियार निर्माणको प्रतिक्रियामा ‘प्रमुख लक्ष्यमा विशेष सम्पत्ति तैनाथ गर्ने’ घोषणा गरेको एक दिनपछि भएको हो । यद्यपि त्यसबारे विस्तृत जानकारी दिइएको छैन ।
शनिबार उहाँले चेतावनी दिँदै भन्नुभएको थियो, “प्योङयाङका शत्रुले आफ्नो सुरक्षा वातावरण कुन दिशातर्फ गइरहेको छ भनेर गम्भीर चिन्ता गर्नु पर्ने छ ।” अमेरिकाले आणविक हतियारसहितको उत्तर कोरियाको खतराबाट सुरक्षा गर्न दक्षिण कोरियामा करिब २८ हजार पाँच सय अमेरिकी सैनिक तैनाथ गरेको छ ।
साथै, गत महिना अमेरिकाले आफ्ना सुरक्षा सहयोगी दक्षिण कोरिया र जापानसँग संयुक्त सैन्य अभ्यास पनि सम्पन्न गरेको थियो । प्योङयाङले त्यस्ता अभ्यासलाई आक्रमणको पूर्वाभ्यासका रूपमा निन्दा गर्ने गरेको छ भने सहयोगी देशले ती अभ्यास पूर्णतः रक्षात्मक उद्देश्य भएको स्पष्ट पार्दै आएका छन् । रासस/एएफपी