• २१ असोज २०८२, मङ्गलबार

पोर्टल्यान्डमा नेसनल गार्ड तैनाथ गर्ने ट्रम्पको ‘गैरकानूनी प्रयास’ अदालतले रोकिदियो

blog

क्यालिफोर्निया, असोज २० गते । क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले आइतबार (स्थानीय समय) राष्ट्रपति श्री डोनाल्ड ट्रम्पको पोर्टल्यान्डमा तीन सय नेसनल गार्ड सेना तैनाथ गर्ने ‘गैरकानूनी प्रयास’ लाई एक सङ्घीय न्यायाधीशले रोक लगाएको बताउनुभएको छ ।

“एक सङ्घीय न्यायाधीशले ट्रम्पको पोर्टल्यान्डमा तीन सय राष्ट्रिय गार्ड सदस्य पठाउने गैरकानूनी प्रयासलाई अवरुद्ध गर्नुभयो । अदालतले हाम्रो अस्थायी प्रतिबन्धको मागलाई स्वीकृति दिएको छ-कुनै पनि राज्यबाट ओरेगनमा कुनै महासङ्घ वा गार्ड सदस्यको नियुक्ति गर्न पाइने छैन । राष्ट्रपतिको शक्तिको दुरुपयोग अब स्वीकार्य हुने छैन”, गभर्नर न्युसमले एक्समा लेख्नुभयो ।

अदालतको अघिल्लो आदेशले उहाँलाई ओरेगनको आफ्नै गार्ड सेना परिचालन गर्नबाट रोकेपछि, क्यालिफोर्नियाका गार्ड सदस्यलाई ओरेगन पठाउन ट्रम्पले आदेश दिनुभएपछि यो निर्णय आएको हो । “सङ्घीय अदालतले ओरेगन नेसनल गार्डलाई सङ्घीय बनाउने ट्रम्पको प्रयास रोकिदिएपछि उहाँले अब तीन सय क्यालिफोर्निया गार्ड सदस्यहरूलाई ओरेगनमा पठाइ रहनुभएको छ । ती सैनिक अहिले त्यहाँ जाँदैछन्”, गभर्नर न्युसमले अर्को पोस्टमा भन्नुभयो, “हामी यो लडाइँलाई अदालतमै फर्काइरहेका छौँ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिको यस्तो लापरवाह र अधिनायकवादी व्यवहारका अगाडि जनता मौन रहन सक्दैनन् ।”

पेन्टागनका अनुसार, क्यालिफोर्नियामा सेवा गरिरहेका करिब दुई सय गार्ड सदस्यलाई पहिले नै पोर्टल्यान्डमा पुनः नियुक्त गरिएको छ र थप एक सय जना पछि पठाइने अपेक्षा गरिएको सिएनएनले जनाएको छ । ओरेगनकी गभर्नर टिना कोटेकले शनिबार करिब एक सय गार्ड सदस्य पुगेको र आइतबार थप सैनिक आइपुगेको पुष्टि गर्नुभयो ।

ओरेगनको अमेरिकी जिल्ला अदालतकी न्यायाधीश करिन इमर्गुटले एक दिनअघि नै ट्रम्प र रक्षा मन्त्रालयलाई दुई सय ओरेगन गार्ड सदस्यलाई ६० दिनका लागि परिचालन गर्नबाट रोक्ने अस्थायी आदेश जारी गर्नु भएको थियो । उहाँले आदेशमा राष्ट्रपति ट्रम्पले आफ्नो संवैधानिक अधिकार नाघ्नु भएको हुन सक्छ भन्ने निष्कर्ष अदालतले निकाल्ने अपेक्षा छ भनी लेख्नु भएको थियो ।

ट्रम्पले आप्रवासन तथा भन्सार प्रवर्तन (आइसिई) सुविधा बाहिर भएका विरोध प्रदर्शनको जवाफ दिन पोर्टल्यान्डमा नेसनल गार्ड सेनाको आवश्यकता रहेको बताउनुभएको थियो । उहाँले सिकागोसहित अन्य डेमोक्रेटिक नेतृत्वका सहरमा पनि गार्ड युनिट पठाउने योजना बनाउनुभएको छ । इलिनोइसका गभर्नर जे.बी. प्रिट्जकरका अनुसार ह्वाइट हाउसले त्यहाँ पनि तीन सय गार्ड सदस्य तैनाथ गर्ने तयारी गरिरहेको छ ।

यस वर्षको सुरुमा आप्रवासन प्रवर्तनविरुद्धका प्रदर्शनका क्रममा राष्ट्रपति ट्रम्पले करिब पाँच हजार नेसनल गार्ड र अमेरिकी मरीन सैनिक लस एन्जलसमा पठाउनुभएको थियो । पछि एक सङ्घीय न्यायाधीशले ती बललाई घरेलु कानून प्रवर्तनका लागि अवैधरूपमा प्रयोग गरिएको ठहर गर्नु भएको थियो, यद्यपि उक्त निर्णय अहिले अपीलमा रहेको बताइएको छ । रासस/एएनआई