• २१ असोज २०८२, मङ्गलबार

हिम आँधीले सगरमाथामा सयौँ पर्वतारोही फसे, उद्धार जारी

blog

बेइजिङ, असोज २० गते । चिनियाँ राष्ट्रिय बिदाको समयमा सगरमाथाको ढलानमा भारी हिमपातका कारण सयौँ पर्वतारोही फसेका छन् । उद्धारकर्ताले उनीहरूलाई मद्दत गरिरहेका छन् ।

चिनियाँ राज्य मिडिया सिसिटिभीका अनुसार करिब ३५० जना पर्वतारोही टिङ्गरी क्षेत्रमा एक बैठक स्थलमा पुगेका थिए भने अन्य २०० सँग उद्धार टोली सम्पर्कमा रहेको जनाएको छ । सोमबार उद्धार प्रयासमा तत्काल नयाँ विवरण उपलब्ध थिएन ।

अघिल्लो रिपोर्टअनुसार पर्वतारोही चार हजार नौ सय मिटर (१६ हजार फिट) भन्दा माथि फसेका थिए । सगरमाथाको कुल उचाइ आठ हजार ८५० मिटर (२९ हजार फिट) छ । हिउँले बाटो अवरुद्ध हुनुअघि तल झर्ने प्रयास गरेका पर्वतारोहीले बताए अनुसार टेन्ट हिउँले ढाकेका थिए र हिउँ करिब एक मिटर (३ फिट) गहिरो थियो ।

फसेका मानिस तल आउन सकून् भन्ने उद्देश्यले सयौँ उद्धारकर्ता आइतबार उचाइमा बाटो खाली गर्न अघि बढेका थिए । एक गाउँलेद्वारा खिचिएको भिडियोमा घोडा र गोरुका साथ लामबद्ध टोली हिउँमा घुमाउरो बाटोतिर सर्दै गरेको देखाइएको छ ।

चीनमा राष्ट्रिय बिदा सुरु हुँदा पश्चिमी क्षेत्रमा हिम आँधी आएको थियो । किङ्घाई प्रान्तको उत्तरी भागमा एक हाइकरको हाइपोथर्मिया र उचाइ रोगबाट मृत्यु भएको थियो भने १३७ जनालाई उद्धार गरिएको सिसिटिभीले सोमबार जनाएको छ । करिब चार हजार मिटर (१३ हजार एक सय फिट) उचाइ भएको मेनयुआन काउन्टीमा अप्रत्याशित मौसम र निरन्तर हिमपातका कारण खोजी कठिन भएको छ ।

चीनमा माउन्ट कोमोलङ्मा भनेर चिनिने सगरमाथा चीन र नेपालको सीमामा फैलिएको छ । त्यहाँ हालैको भारी वर्षाले ४० भन्दा बढीको ज्यान लिएको थियो । पर्वतारोही आधार शिविरबाट विश्वको सर्वोच्च शिखर आरोहण गर्ने प्रयास गर्छन् ।

जनवरीमा सोही क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा कम्तीमा १२६ जनाको मृत्यु भएको थियो । सगरमाथाको चिनियाँ पक्ष तिब्बतमा पर्ने हुँदा दुर्गम क्षेत्र मानिन्छ । त्यहाँ सरकारले सडक र पर्यटन विकासका लागि ठूलो रकम लगानी गरेको छ । रासस/एपी