इमान सिं राना
रामपुर (पाल्पा), असोज २० गते । जिल्लाको निस्दी गाउँपालिका–५, बेलौजीमा चौथो निस्दी कप हुने भएको छ । असोज २२ देखि २५ गतेसम्म हुन गैरहेको निस्दी कपमा पुरुष तथा महिला खुला भलिबल प्रतियोगिता हुने भएको हो ।
जनचेतना युवा क्लबको आयोजना र बालकल्याण क्लबको सहआयोजनामा प्रतियोगिता सञ्चालन गर्न लागिएको जनचेतना युवा क्लबका अध्यक्ष तिलक सारुले बताउनुभयो ।
प्रतियोगितामा पुरुषतर्फ पाल्पा, स्याङ्जा, तनहुँ, रुपन्देही र कपिलवस्तुका सात भन्दाबढि टिमको सहभागिता रहने खेल संयोजक यमबहादुर सारुले जानकारी दिनुभयो ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमश: एक लाख एक हजार १११ रुपियाँ, ५० हजार १११ रुपियाँ र २५ हजार १११ रुपियाँसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने कार्यक्रम संयोजक नोलकुमार बयम्बुले बताउनुभयो ।
महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने समुहले क्रमशः १५ हजार रुपियाँ, १० हजार रुपियाँ र पाँच हजार रुपियाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै उत्कृष्ट खेलाडीलाई विभिन्न विधामा नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
क्लबको २३औँ वार्षिक उत्सवको अवसरमा हुन गइरहेको प्रतियोगिताको अवसरमा परम्परागत कला संस्कृतिको संरक्षणका लागि झाँकीसमेत प्रदर्शन हुनेछ ।