• २१ असोज २०८२, मङ्गलबार

सेवा केन्द्रमा ४१ ले लिए अस्थायी आश्रय

blog

सामाजिक विकास कार्यालय लमजुङ । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, असोज २० गते । लमजुङ सदरमुकाम बेसीशहरमा रहेको अल्पकालीन सेवा केन्द्रले विभिन्न समस्या परेको तथा असहज परिस्थितिमा पुगेका ४१ जनालाई अस्थायी आश्रय दिएको छ । 

सामाजिक विकास कार्यालय लमजुङअन्तर्गत स्थापना भएको अल्पकालीन सेवा केन्द्रमा विभिन्न मुद्दाका पीडिततलाई आश्रय दिइएको हो । अल्पकालीन सेवा केन्द्र प्रमुख सिर्जना पौडेलका अनुसार २०७९ जेठबाट सञ्चालनमा आएको अल्पकालीन सेवा केन्द्रमा हालसम्मको अवधिमा आश्रय लिएकाहरुमध्ये सबैभन्दा बढी जबरजस्ती करणी मुद्दाका पीडितहरु छन् । 

जिल्लास्थित विभिन्न स्थानीय तहबाट विभिन्न परिस्थितिमा परेर उजुरी तथा मुद्दाका लागि आएका पीडितलाई केन्द्रमा अस्थायी रुपमा खाने बस्ने व्यवस्था मिलाइएको हो । केन्द्रमा जिल्लाका स्थानीय तहबाहेक बाहिरी जिल्लाका पीडित व्यक्तिहरुले समेत अस्थायी आश्रय लिएका केन्द्र प्रमुख पौडेलले बताउनुभयो ।  

लैङ्गिक हिंसा, यौन अपराध, जबरजस्ती करणीजस्ता घटनाहरुमा पीडित भएकालाई अर्को विकल्प नहुँदासम्म केन्द्रले गाँसबासको व्यवस्थासहित अस्थायी आश्रय दिँदै आएको छ । पीडितहरुले बढीमा ४५ दिनसम्म आश्रय पाउने व्यवस्था भए पनि उक्त केन्द्रमा सबैभन्दा बढी १९ दिनसम्म पीडितले आश्रय लिएको अभिलेख छ ।  

सदरमुकाम बेसीशहरमा घर भाडामा लिएर सञ्चालन गरिएको सेवा केन्द्रमा एकैसाथ बढीमा १० जनासम्म राख्न सकिने व्यवस्था मिलाइएको छ । गत आर्थिक वर्षमा मात्र केन्द्रमा १६ जना पीडितले आश्रय लिएकोमा चालु आर्थिक वर्षको साउनदेखि हालसम्म चारजना पीडितले अस्थायी आश्रय लिएका छन् । 

अल्पकालीन सेवा केन्द्रका लागि प्रदेश सरकारले सामाजिक विकास कार्यालयमार्फत कर्मचारीको तलव, घरभाडासहित खाजा खानाका लागि बजेट उपलब्ध गर्दैआएको छ ।

गत आर्थिक वर्ष २०८०–८१ मा कर्मचारी तलब, बैठक भत्ता, घरभाडा, पोशाक, पानी बिजुली, खाजाखाना, यातायात गरी ७ लाख ५२ हजार ५६ रुपियाँ खर्च भएको केन्द्र प्रमुख पौडेलको भनाइ छ । केन्द्रमा तीन जनाको दरबन्दी भए पनि एकजना मात्र कर्मचारी राखिएको छ । रकम अभावकै कारण दरबन्दीअनुसार कर्मचारी राख्न नसकिएको सामाजिक विकास कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापाले बताउनुभयो ।