• २१ असोज २०८२, मङ्गलबार

सहकारीमा मितव्ययी र वित्तीय अनुशासनको संस्कार अभ्यास

blog

कञ्चनपुर, असोज २० गते । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूमा विगतमा देखिने महँगो सजावट, अतिथि सत्कार, उपहार वितरण र भोजभतेरको चलन कञ्चनपुरमा क्रमशः घट्दै गएको छ । हाल धेरै सहकारी संस्थाहरूले मितव्ययी ढङ्गमा साधारणसभा सम्पन्न गर्न थालेका छन् ।

सहकारीसँग प्रत्यक्ष सम्बन्ध नभएका मन्त्री, सांसद वा बाह्य अतिथिलाई प्रमुख अतिथि बनाउने चलनलाई सहकारी संस्थाहरूले अन्त्य गरेका छन् । विगतमा यस्ता अतिथिका लागि यातायात भत्ता र सत्कारमा ठूलो रकम खर्च हुने गथ्र्यो । 

शुक्लाफाँटा नगरपालिका–१०, झलारीस्थित महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडलेका प्रबन्धक गणेश भट्टले यस वर्षको साधारणसभा कुनै भव्य सजावटविना, भोजभतेरको कार्यक्रमविना नै सम्पन्न गरेको बताउनुभयो । 

“सभाको उद्घाटन परम्परागत ढङ्गले दियो बालेर गर्यौँ,” उहाँले भन्नुभयो, “तीन जना सहकारीसँग सम्बन्धित व्यक्तिहरूलाई अतिथि बनाएर आधा घण्टामा नै उद्घाटन कार्यक्रम सम्पन्न गरी सदस्यका सरोकारका विषय बचत, ऋण, संस्थागत नीतिहरू र आगामी रणनीतिमा छलफल केन्द्रित गरी साधारणसभा सम्पन्न गर्यौँ ।”

उहाँका अनुसार यो अभ्यास आकस्मिक रूपमा नभएर हालै राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको साधारणसभासम्बन्धी निर्देशनअनुसार साधारणसभा सम्पन्न गरिएको उहाँले बताउनुभयो । सृजनशील बचत तथा ऋण सहकारी संस्थाले पनि विना तडकभडक साधारणसभा सम्पन्न गर्ने सोच बनाएको छ । प्राधिकरणको निर्देशनअनुसार साधारणसभा सम्पन्न गर्नेगरी कार्ययोजना तयार गरिएको सहकारीका प्रबन्ध निर्देशक मदन भट्टले बताउनुभयो ।

सहकारी ऐन, २०७४ को व्यवस्थाअनुसार प्राधिकरणले सहकारी संस्थामा भड्किलो र गैरसदस्य–केन्द्रित साधारणसभाको प्रवृत्ति अन्त्य गर्न हालै निर्देशन जारी गरेको थियो । साधारणसभामा गैरसदस्य व्यक्ति वा अतिथिलाई आमन्त्रण गरी उद्घाटन सत्र, आसनग्रहण वा अतिथि मन्तव्यजस्ता औपचारिक कार्यक्रममा समय व्यतित नगरी साधारणसभाको सिधै ‘एजेन्डा’मा प्रवेश गरी कार्यक्रम सञ्चालन गर्ने प्राधिरणको सहकारी संस्थाहरूका लागि निर्देशन जारी गरेको छ । 

राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक माधवप्रसाद जोशी यस्तो मितव्ययी अभ्यासले सहकारी सुशासनलाई सुदृढ बनाउन मद्दत पुर्याउने बताउनुहुन्छ । “भोजभतेर, उपहार, अथिति सत्कारमा पैसा खर्च गर्नुभन्दा सदस्यको हितमा लगानी गर्ने संस्कार सुरु भएको छ,” उहाँले भन्नुभयो, “यसलाई सहकारी सुधारतर्फको सकारात्मक कदमका रूपमा लिएका छौँ ।”

उहाँका अनुसार सहकारी ऐन २०७४ को दफा ३९९२० ले साधारणसभाको व्यवस्था गरेको छभने दफा १०३९ज०९१० ले प्राधिकरणलाई नियमन र निर्देशन दिने अधिकार दिएको छ । यही कानुनी आधारमा सहकारीहरूलाई नयाँ अभ्यास गर्न निर्देशन गरिएको हो ।

“विगतमा साधारणसभालाई उत्सवका रूपमा मनाउने चलनले धेरै सहकारीमा आर्थिक भार बढाएको थियो,” उहाँले भन्नुभयो, “सदस्य केन्द्रित, मितव्ययी र प्रभावकारी सभा गर्ने अभ्यासले पारदर्शिता र उत्तरदायित्वमा सुधार ल्याउने अपेक्षा गरेका छौँ ।”

नेफ्सकुन (नेसनल फेडेरेसन अफ सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ्स युनियन अफ नेपाल) का महेन्द्रनगर फिल्ड कार्यालय प्रमुख धर्मराज जोशीले प्राधिकरणको यस निर्देशनलाई सकारात्मक अभ्यासका रूपमा लिएका छन् । “साधारणसभा सदस्यकै अधिकार प्रयोग गर्ने थलो हो, त्यहाँ गैरसदस्य बोलाउनु अनुशासन विपरीत हुन्छ,” उहाँले भन्नुभयो, “यस अभ्यासले सहकारीभित्र सुशासन र वित्तीय अनुशासनको संस्कारलाई बल पुर्‍याउनेछ ।”

“राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशनले सहकारी साधारणसभालाई वास्तविक उद्देश्यतर्फ फर्काएको छ,” कञ्चन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जोगीसिँह सोवले भन्नुभयो, “सदस्यको आवाज सुन्ने, नीतिगत छलफल गर्ने र संस्थागत सुदृढीकरणमा ध्यान केन्द्रित गर्ने परिपाटीको विकास भएको छ ।” मितव्ययी तर प्रभावकारी सभाको अभ्यासले सहकारीलाई आर्थिक रूपमा जिम्मेवार र नैतिक संस्थाका रूपमा पुनःस्थापित गर्ने उहाँको भनाइ रहेको छ । रासस