गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज २० गते । देशैभरि वर्षा, बाढी र पहिरोले नागरिकको जनधनको क्षति र प्रताडना बेहोरिरहँदा प्रमुख राजनीतिक दल उद्धार र राहत कार्यमा सरकारको साथमा उभिएका छन् । असोज १७ गतेदेखि सुरु भएको वर्षापछि असोज १८ र १९ गते विभिन्न जिल्लामा बाढी र पहिरोले क्षति पुर्याएपछि राजनीतिक दल र तिनका भ्रातृ संस्था उद्धार र राहतमा खटिएका हुन् ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) सहित अन्य राजनीतिक दलका नेता कार्यकर्ता बाढीपहिरो प्रभावित क्षेत्रमै खटिएका छन् । दलका नेताहरूको विदेश भ्रमण रोक्का गर्ने सरकारको निर्णयपछि रुष्ट भए पनि दलहरू राष्ट्रिय विपत्तिमा सरकारको साथमा उभिएका छन् ।
कांग्रेस महामन्त्री गगनकुमार थापाले मुसलधारे वर्षापछि सिर्जित विषम परिस्थितिलाई दृष्टिगत गर्दै पार्टीका सबै तहका नेता कार्यकर्तालाई आआफ्नो क्षेत्रमा खटाइएको बताउनुभयो । उहाँले स्थानीय तह, प्रदेश सभा सदस्यसहित सबैलाई सरकारले जारी गरेको सूचना प्रवाहित गर्दै पार्टीपङ्क्ति राहत र उद्धारमा जुटेको बताउनुभयो ।
कांग्रेसले विपत्सँग जुध्न भ्रातृ संस्थामा आबद्ध युवाको ‘स्वयंसेवी समूह’ मार्फत कार्य गर्ने निर्णय गरेको छ । महामन्त्री विश्वप्रकाश शर्माको संयोजनमा सबै भ्रातृ संस्थाका प्रतिनिधिसहित पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलले विपत्का बेला राज्यको सूचना पालना गर्दै सुरक्षित रहेर अरूको सुरक्षामा सहयोग गर्न पार्टी सदस्यलाई अपिल गरिएको बताउनुभयो ।
एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले प्राकृतिक प्रकोपका कारण जनधनको क्षति भएको स्थितिमा पार्टीका सबै तहका नेता कार्यकर्ता उद्धार र राहतमा जुटिरहेको बताउनुभयो । उहाँले बाढी र पहिरोको सम्भावित जोखिमयुक्त क्षेत्रमा सुरक्षाकर्मीसँग समन्वय गरेर उद्धार र राहतमा पार्टीको टोली परिचालन गरिएको बताउनुभयो ।
पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढी र पहिरोको जोखिम पूर्ण रूपमा नहटेकाले सबैमा उच्च सतर्कता र सावधानी अपनाउन अनुरोध गर्नुभएको छ । उहाँले पार्टीका सबै तहका संरचनालाई उद्धार, राहत र पुनस्र्थापना कार्यमा सक्रिय गराइएको बताउनुभएको छ ।