• २१ असोज २०८२, मङ्गलबार

राजमार्ग अवरुद्ध हुँदा हवाईयात्रामा चाप

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २० गते । अविरल वर्षाका कारण काठमाडौँ जोडिने मुख्य राजमार्ग अवरुद्ध हुँदा हवाई यात्रुको चाप बढेको छ । प्रतिकूल मौसमका कारण शनिबार दिनभर बन्द भएको आन्तरिक उडान सञ्चालनमा आएसँगै उडानमा चाप बढेको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले भन्नुभयो, “प्रतिकूल मौसमका कारण प्रभावित भएको उडान सञ्चालनमा आएसँगै विराटनगरबाहेकका आन्तरिक विमानस्थलमा नियमित उडान भइरहेको छ । दसैँ मनाएर उपत्यका फर्किने र उपत्यकाबाट बाहिरिने यात्रुको चापले अहिले विमानस्थलको आन्तरिक टर्मिनल भरिभराउ छ ।”अहिले उपत्यकाबाट बाहिरिनेभन्दा भित्रिने यात्रुको सङ्ख्या धेरै रहेकाले आइतबार आन्तरिकतर्फ काठमाडौँमा २८० उडान/अवतरण भएको उहाँले बताउनुभयो । शुक्रबार रातिदेखि परेको वर्षाका कारण लामो दुरीका सवारीसाधन खुल्नेबारे अझै अनिश्चित छ । जहाज भरिभराउ भएपछि हवाई कम्पनीले यात्रुको उडान समय सार्नसमेत नसकिने अवस्था रहेको जनाएका छन् । प्राकृतिक विपत्का कारण भैरहवामा अलपत्र यात्रीको उद्धारका लागि नेपाल वायुसेवा निगमले आइतबार न्यारोबडी ए ३२० जहाजबाट उद्धार उडानको तयारी गरेको छ । 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले भैरहवा आसपासका यात्रु र स्थलमार्गबाट राजधानी काठमाडौँ पुग्न नसकेका यात्रुलाई ओसार्न सोमबार दिउँसो उद्धार उडान हुन लागेको जानकारी दिनुभयो ।

आइतबार दिउँसो १ बजे काठमाडौँबाट भैरहवा उड्ने निगमको उक्त जहाज दिउँसो २:४५ मिनेटमा भैरहवाबाट काठमाडौँ फर्किने छ । निगमले काठमाडौँबाट भैरहवाका लागि पाँच हजार र फर्किंदा सात हजार रुपियाँ टिकट शुल्क तोकेको छ ।