गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज २० गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा आएको बाढीपहिरोमा सबैको सतर्कताले मानवीय क्षति कम भएको बताउनुभएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन गरी उहाँले भन्नुभयो, “सरकारको सतर्कताका कारण बाढीका कारण मानवीय क्षति भएको छैन । इलाममा ३५१ मिलिमिटरको अतिवृष्टि भएको छ, जसले गर्दा पहिरोमा परेर मानवीय क्षति हुन पुगेको छ । त्योबाहेक अन्त क्षति भएको छैन ।”
बाढीपहिरोले मुलुकका विभिन्न क्षेत्रमा भएको भौतिक क्षतिलाई प्राथमिकतासाथ पुनर्निर्माण गरिने बताउँदै उहाँले काठमाडौँबाट पश्चिमतर्फका सडक तत्कालै खोलिने र पूर्वमा वर्षा जारी रहेकाले सो क्षेत्रमा यातायात बिस्तारै सञ्चालनमा आउने बताउनुभयो ।
अवरुद्ध बिपी राजमार्ग अबको तीन/चार दिनभित्रै सञ्चालनमा आउने बताउँदै उहाँले सो राजमार्गको भकुन्डेबैँसी–नेपालथोकखण्ड र मेची राजमार्ग यथाशक्य छिटो सञ्चालनमा ल्याउने गरी अवरोध हटाउने र डाइभर्सन बनाउने काम सुरु भइसकेको जानकारी दिनुभयो । मन्त्री घिसिङले यस वर्षको मनसुनजन्य जोखिम टरेको दाबीसमेत गर्नुभयो ।
उहाँले भन्नुभयो, “बिपी राजमार्गको अवरुद्ध खण्ड तत्कालै खोल्ने छौँ । काम सुरु गरिसकेका छौँ । तीन/चार दिनभित्रमा खोल्ने कुरा भएको छ । त्योभन्दा छिटो सडक खोल्ने छौँ ।” उहाँले मुख्य राजमार्ग र सडक सञ्चालनमा नआएसम्म वैकल्पिक बाटो प्रयोग गर्न सबैसँग आग्रहसमेत गर्नुभयो । मुलुकको पूर्वी भेगका सडकमा बढी क्षति भएकाले यी सडक निर्माण यथाशक्य छिटो सुरु गर्न मन्त्रालयले तयारी गरेको जानकारी दिनुभयो ।
असोज १७ र १८ गतेको अविरल वर्षाले बिपी राजमार्गका १६ स्थानका डाइभर्सन बगाएको छ । सडक विभागका अनुसार बाढीले १६ स्थानका तीन हजार ४१० मिटर डाइभर्सन बगाएको हो ।
ज्योतिषीको कुरामा विश्वास गर्दा क्षति
सो अवसरमा मन्त्री घिसिङले केही ज्योतिषीको कुरामा विश्वास गर्दा रसुवाको लाङटाङमा मानवीय क्षति भएको हुन सक्ने उल्लेख गर्नुभयो । लाङटाङ ट्रेकिङमा गएका चार जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य जारी रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “मैले सुनेको कुरा तपाईंहरूलाई भन्छु, केही ज्योतिषीले यो (बाढीपहिरो) हुँदैन, यो गलत हो भनेका कारणले पनि लाङटाङ ट्रेकिङमा जानुभयो कि भन्ने कुरा छन् । हामीले त पटक पटक भनेका थियौँ ।’’ केही गलत सूचनाका कारणसमेत केही मानिस समस्यामा परेको उहाँको भनाइ थियो ।
सम्बन्धित निकायले बाढीपहिरोको सूचना दिँदादिँदै पनि केही व्यक्ति खोलाकिनारबाट हट्न नचाहेपछि जबरजस्ती हटाउनु परेको उहाँले उल्लेख गर्नुभयो । मन्त्री घिसिङले भन्नुभयो, “हामीले सूचना दिँदा खेरी, भन्दा खेरी पनि केही व्यक्ति खोलाकिनारबाट हट्न चाहिरहेका थिएनन् । उहाँहरू त्यहीँ बस्न चाहनुभएको थियो । नबगेसम्म बस्ने अवस्था पनि देखियो । त्यसपछि हामीले बेलुका जबरजस्ती उठायौँ । त्यसले पनि धेरै क्षति हुनबाट रोकेको छ ।”
यसैबिच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गरी क्षतिग्रस्त राजमार्ग तथा सडकको मर्मत तथा पुनः सञ्चालनका लागि आवश्यक उपकरण, जनशक्ति र स्रोत परिचालन गरी काम अगाडि बढाइरहेको जनाएको छ । विशेष गरी प्रमुख राजमार्गका अवरुद्ध खण्ड खुलाउने कार्यलाई उच्च प्राथमिकतामा राखिएको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले विज्ञप्तिमार्फत बाढीपहिरोमा परी ज्यान गुमाउने व्यक्तिप्रति हार्दिक श्रद्धाञ्जली अर्पण तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित सबै नागरिकप्रति सहानुभूति र कठिन परिस्थितिमा धैर्य र संयम राख्न अनुरोध गरेको छ ।