जनार्जन खत्री
सर्लाही, असोज १९ गते । सर्लाहीमा शुक्रबार रातिदेखि आइतबार बिहानसम्म भएको अविरल वर्षापछि डुबान तथा कटानबाट एक हजार ६१९ परिवार विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मलङ्गवाका अनुसार, जिल्लाभर एक हजार ६१९ परिवार बाढीबाट विस्थापित भइ सुरक्षित स्थानमा बसिरहेका छन् । तीमध्ये चक्रघट्टा गाउँपालिका –१, पडरियामा २० वटा कच्ची घरमा पूर्ण क्षति पुगेको सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिनुभयो ।
सबैभन्दा बढी लखन्देही खोलाले क्षति गरेको छ । मनुष्मारा, झिम, सोती, बागमती लगायत खोलाले पनि ठाउँ ठाउँमा कटान तथा डुबानको समस्या निम्त्याएको प्रहरीले जनाएको छ ।
अविरल वर्षापछि बलरा नगरपालिका –३, का ७०० घरमा पानी पसेको छ । वर्षाको पानी र लखन्देही खोलामा आएको बाढी पस्दा मलङ्गवा नगरपालिका –५, भाडसरमा करिव २०० घर डुबानमा परेका छन् ।
कौडेना गाउँपालिका –७, शिवनगरमा लखन्देही खोलाले बाँध कटान गरेर बस्तीमा पसेपछि आइतबार बिहानैदेखि करिव ४०० घरधुरी स्थानीय घर फर्कन सकेका छैनन् । अघिल्ला वर्षमाझैँ शिवनगरका पुरै बस्ती डुबानमा परेकाले प्रहरीसमेत जान नसकेको स्थानीय सञ्चारकर्मी निरज यादवले जानकारी दिनुभयो ।
बाढी र वर्षाको पानी पस्दा हरिवन नरपालिका –११, कबिलासी नगरपालिका –८, अगर्वा, चक्रघट्टा गाउँपालिका –५, कौडेना गाउँपालिका –३, र ५, बरहथवा नगरपालिका –७, डोम टोल, बसबरिया गाउँपालिका –२, धापटोल र बरहथवा नगरपालिका –१६, टिकुलियामा दर्जनौँ घर डुबानमा परेका छन् ।
अविरल वर्षापछि सदरमुकाम मलङ्गवामा जिल्ला भन्सार कार्यालय, प्रहरी चौकी गोरखकालीसहित मलङ्गवा–सोनवर्षा मुख्य नाका आवत जावत गर्नै नसकिने गरी डुबानमा परेको स्थानीय शिवचन्द्र चौधरीले बताउनुभयो ।
शनिबार रातभरको भारी वर्षापछि आइतबार दिनभर सर्लाहीका विभिन्न स्थानमा बाढी तथा डुबानमा परेका १९ जनालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी भएर उद्धार गरेका डिएसपी राईले बताउनुभयो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले सुरक्षाकर्मी र जनप्रतिनिधिको सहयोगमा बाढी प्रभावित क्षेत्रा उद्धारको काम जारी रहेको जानकारी दिनुभयो ।
सर्लाहीमा आइतबार बिहानदेखि वर्षा रोकिएर मौसम उघ्रिएपछि जिल्लाको जनजीवन क्रमिकरुपमा सामान्य बन्दैगएको छ । पानी पर्न रोकिएपछि बागमती, लखन्देही, झिमलगायतका खोलामा विस्तारै पानीको बहाव घट्दै जान थालेको छ ।