• १८ असोज २०८२, शनिबार

मौसमको चेतावनीमा बेवास्ता

blog

विष्णु थापा

प्रकृतिको उन्मादपूर्ण शक्तिले नेपाली भूभागलाई अहिले आँधी–बर्षाको चपेटमा पारेको छ । केही दिनदेखि चलिरहेको यो मौसमी अवस्थाले देशभरका खोला–नदीहरू बढेका छन् । बाढी–पहिरोको डर बढेको छ । लगातारको वर्षा, पहिरो, नदी–खोलाको बढ्दो बहाव, सडक अवरोध र भीषण ट्राफिकजामले यात्रालाई जोखिमपूर्ण बनाएको छ । नेपालको भौगोलिक जटिलता र हालको मनसुन प्रणालीका कारण जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पटक पटक सूचना जारी गरिरहेका छन् । नदी तटीय क्षेत्रमा उच्च सतर्कता, पहिरोको जोखिम र अत्यावश्यक बाहेक लामो दूरीको यात्रा नगर्न सरकारले आम नागरिकलाई गरिएको आग्रह सार्वजनिक भएकै छ । तर सचेतनाको आवाजको बावजुद पनि, धेरै नागरिकहरूले यो सुचनालाई वेवास्ता गरिरहेका छन् ।  

सरकारले जुन चेतावनी दिँदैआएको छ, त्यो निकै गम्भीर छ । यो आँधी–बर्षाको मौसममा बाढी–पहिरोको जोखिम बढेको छ । खोला–नदीहरूमा पानीको स्तर बढेको छ, भूक्षयको सम्भावना बढेको छ । यस्तो समयमा अनावश्यक यात्रा गर्दा जीवनको जोखिम बढाउँछ । तर यो सबैको सुरक्षा सचेतनाको लागि भए पनि धेरै नागरिकहरूले यो सूचनालाई वेवास्ता गर्दैआएका छन् । यात्रा गर्नुपर्ने कारण खोज्दै, अनावश्यक यात्रामा निस्किँदै छन् । यस्तो चेतावनीहरूलाई सामान्य ’औपचारिकता’ मात्र ठानेर धेरै नागरिकले जोखिमपूर्ण यात्रा गरिरहेका छन् । पहिरो खसिरहेका सडक खण्डमा गाडी तेर्साउनु, खोलामा पानीको बहाव उच्च हुँदाहुँदै तर्न खोज्नु वा रातको समयमा जोखिमयुक्त यात्रा गर्नु नागरिकको अनाहकको हतार र अदूरदर्शिताको पराकाष्ठा हो । 

यो वेवास्ताले दुर्घटनालाई निम्तो दिइरहेको छ । यो व्यवहार बिगतका दुर्घटनाहरूबाट नै सिक्न नसक्ने नागरिक प्रवृत्तिको प्रतिबिम्ब पनि हो । विशेषगरी भ्याप्ले खोला, शिमलताल, सिद्धबाबा वा मुगुका दुर्घटनाहरूले यसको दुःखद सत्यलाई झल्काएका छन् । यी घटनाहरू केवल समाचार होइनन्, ती जीवनका कठोर पाठ हुन् । यी सबले हामीलाई मनसुनको समयमा खोलानाला र पहिरोको जोखिमप्रति सधैं सतर्क रहन सिकाएका थिए । क्षणभरमै ज्यान जाने वा अपूरणीय क्षति हुने ती घटनाहरू आज पनि हाम्रा सामु उदाहरण बनेर उभिएका छन् । मानिसहरूलाई एकै क्षणमा खोलाले बगाएको, सडकमा पहिरोले पुरिएको र जीवन तहसनहस भएको दृश्यको सम्झना ताजै हुँदाहुँदै पनि हामीले ’इतिहासबाट पाठ नसिकेर’ फेरि त्यही गल्ती गरिरहेका छौं । सरकारले दिएको सूचना केवल ’सूचना’ होइन, यो त जीवन रक्षाको सन्देश हो । यो सूचनालाई केवल अधिकारीहरूको ’काम पूरा गर्ने औपचारिकता’ सम्झनु हाम्रो ठुलो भूल हो । 

प्रत्येक वर्ष, वर्षाको सुरुवातसँगै, ती दुर्घटनाका दृश्य फेरि दोहोरिन्छन् । पहिले चेतावनी, त्यसपछि दुर्घटना, अनि शोक र अपराधबोध हुन्छ । अर्को वर्ष, उही हठ र लापरवाही हुन्छ । अब समय आएको छ, चेतावनीलाई डर होइन, सुरक्षा कवचका रूपमा बुझ्ने । अनावश्यक यात्रा टार्ने, चालकले गति नियन्त्रण गर्ने, यात्रुले पनि जिम्मेवार बन्ने । यिनै साना अभ्यासहरूले ठूलो दुर्घटना रोक्न सक्छ । मानव सभ्यताको एउटा दुःखद् विरोधाभास हो – हामी पाठ पढ्छौं, तर पाठ सिक्दैनौं । दुर्घटना आफैंले भोगेर सिक्ने विषय होइन, यो त अरूको भोगाइबाट चेतेर जोगिने विषय हो । हाम्रो आम प्रवृत्ति भने ’आफूलाई केही हुँदैन’ भन्ने अति आत्मविश्वासको खोलभित्र लुकेर जोखिमलाई अँगाल्ने रहेको देखिन्छ । यस वर्षको मौसमी प्रणालीमा सरकारले आम नागरिकलाई अनावश्यक यात्रा नगर्न दिएको सूचना र आग्रहलाई अधिकांशले गरेको लापरबाहीपूर्ण वेवास्ताले यसै कटुसत्यलाई उजागर गरेको छ । 

अहिलेको मौसमको अवस्था, पहाडी क्षेत्रमा पहिरोको जोखिम र नदीनालामा जलस्तर वृद्धिको खतरा हामी सबैलाई थाहा छ । सरकारले तथा सञ्चार माध्यमले समयमै दिएका “सुरक्षित रहनुहोस्, जोखिम नलिनुहोस्, अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्नुहोस्“ भन्ने सूचना र चेतावनीलाई हामी वेवास्ता गर्दैछौ । अधिकांशको प्रवृत्ति कस्तो छ भने “अरूलाई परेको हो, मलाई पर्दैन ।“ अथवा “भए पनि त्यति ठुलो दुर्घटना हुँदैन ।“ यो भोगेर सिकौंला भन्ने घातक सोचले हाम्रासामु झ्याप्ले खोला र शिमलताल जस्ता भयानक घटनाहरूको पीडादायी इतिहास दोहोर्याउने जोखिम बढाएको छ । बिगतमा नदी तर्ने क्रममा होस् या जोखिमपूर्ण यात्राका कारण, ती ठाउँहरूमा भएको मानवीय र भौतिक क्षतिबाट हामीले के पाठ सिक्यौं त ? प्रश्न गम्भीर छ । किनकि जोखिम मोल्ने प्रवृत्तिमा कमी आएको देखिँदैन । सरकारले दिएको सूचनालाई बेवास्ता गर्नु भनेको केवल व्यक्तिगत लापरबाही मात्र होइन, यो सामाजिक र नागरिक जिम्मेवारीबोधको अभाव पनि हो । 

आफ्नो र आफ्नो परिवारको जीवनको सुरक्षालाई सामान्यकरण गर्नु नै सबैभन्दा ठुलो समस्या हो । दुर्घटनामा परेर हुने क्षति अपूरणीय हुन्छ, जसको मूल्य ’भोगाइ’ ले चुकाउन सकिँदैन । हामीले अनावश्यक यात्रा गर्दा सडक, पुल वा अन्य पूर्वाधारमा दबाब सिर्जना गर्छौं । पहिरो वा बाढीजस्ता घटनाको जोखिम बढाएर अरू सुरक्षित नागरिकलाई समेत खतरामा पार्छौं । हामीले एउटा कुरा मनन गर्नुपर्छः दुर्घटनाको पाठ भोगेर सिक्ने होइन, चेतेर सिक्ने हो । अरूलाई परेको विपत्तिबाट सिक्नु, विज्ञहरूका चेतावनीलाई गम्भीरताका साथ लिनु र सरकारका सुरक्षासम्बन्धी निर्देशनहरूलाई पालना गर्नु नै सुरक्षित नागरिक हुनुको पहिचान हो । मौसमी प्रणालीमा आएको गडबडीका कारण जीवन जोखिममा पार्नु कुनै बहादुरी होइन, यो शुद्ध अनागरिक प्रवृत्ति हो । आजका चुनौतीहरूलाई सामना गर्ने उत्तम उपाय नै पूर्वसतर्कता हो । 

बिगतका घटनाहरू केवल समाचारका शीर्षक मात्र होइनन्, ती त्रासदीपूर्ण पाठ हुन् । हामीले बिगतका दुर्घटनाहरूबाट सिक्नुपर्छ ।  हामीले सरकारको सूचनालाई मान्नु पर्छ । राज्यले बिषम अवस्थामा सूचना जारी गर्छ, यात्रा नियन्त्रणका लागि अपिल गर्छ । तर, जब नागरिकले त्यसलाई हावा ठान्छन्, नतिजा दुखद हुन्छ । सडक सुरक्षा नीति र चेतावनी प्रणाली सुधार्ने जिम्मा सरकारको हो; तर व्यवहारमा सावधानी अपनाउने दायित्व नागरिकको हो । राज्यले प्रहरी र स्थानीय निकायमार्फत जोखिमपूर्ण सडकमा ट्राफिक नियन्त्रण र व्यवसथापन गर्छ, परिवर्तित मौसमी प्रणालीको सूचना प्रसारण गर्छ । यात्रु र चालकले त्यस्तो सूचना पालना नगरेपछि नीति कागजमै सीमित रहन्छ । “चेतावनीलाई बेवास्ता गर्दा केवल नियम तोडिँदैन, जीवन नै जोखिममा पर्छ । 

दुर्घटना आफैंले भोगेर सिक्ने विषय कदापी होइन । अनि दुर्घटनामा गुमाएको ज्यान माफी मागेर पाइँदैन । जीवन एक पटक मात्र पाइन्छ, त्यसैले जोखिमसँग खेल्न मिल्दैन र खेल्न हुदैन । राज्यले आफ्नो दायित्व र जिम्मेवारी पूरा गरोस्, मौसम सूचना, सडक मर्मत, नियन्त्रण र उद्दार संयन्त्रमा सुदृढ गरोस् । नागरिकले पनि आफ्नो नागरिक दायित्व र जिम्मेवारी सजगता, संयमता र चेतनासहित निभावस् । हामीले अरूको पीडाबाट सिक्न नचाहँदा, एक दिन त्यो पीडा हाम्रो घरभित्र प्रवेश गर्न सक्छ । दुर्घटना हुनु भनेको परीक्षामा असफल हुनुजस्तो होइन, जहाँ अर्को पटक राम्रो गर्ने मौका मिल्छ । यो त यस्तो घटना हो जहाँ ’दोस्रो मौका’ नआउन सक्छ । त्यसैले, हामी सबैले ’भोगेर सिकौंला’ भन्ने घातक सोच त्याग्नुपर्छ । चेतना, सतर्कता र नियमको पालना नै दुर्घटनाबाट बच्ने सर्वोत्तम ’शिक्षा’ हो । त्यसैले, अब सोच बदलौं । अत्यावश्यक बाहेक अनावश्यक यात्रा नगरौ । सरकार तथा मौसमबिद्को सूचना र चेतावनीलाई पूर्ण रुपमा पालना गरौ । आफ्नो र अरूको सुरक्षालाई समान रूपमा महत्व दिऔं । किनभने  दुर्घटना आफैंले भोगेर सिक्ने विषय होइन ।

(लेखक जिल्ला ट्राफिक प्रहरी कार्यालय, अँधेरी, सिन्धुपाल्चोकको प्रमुख हुनुहुन्छ ।)