काठमाडौं, असोज १८ गते । नेपाली सेनाले उपत्यकाका नदीहरूमा पानीको बहाव बढेसँगै जोखिममा परेका नागरिकको उद्धार गरेको छ ।
काठमाडौँ महानगरपालिका वडा नं. ११ थापाथलीस्थित बागमती नदीको किनारको बस्तीमा जोखिम बढेपछि त्यहाँका नागरिकलाई सुरक्षित स्थानमा सारेको छ ।
नेपाली सेनाको श्री गणेशदल गण र अन्य सुरक्षा निकायको संयुक्त टोलीले गुहेश्वरी इलाकामा र टेकु दोभानस्थित सत्प्रयास वृद्धाश्रममा रहनु भएका जेष्ठ नागरिकहरुलाई पचली भैरव मन्दिरमा स्थानान्तरण गरिएको छ ।
साथै, निरन्तर वर्षातको कारणबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न उपत्यका भित्र थप विभिन्न जोखिमयुक्त १९ स्थानमा दक्ष जनशक्तिलाई आवश्यक उपकरणसहित पूर्व तैनाथ गरिएको जानकारी सेनाले दिएको छ ।
यसैगरी, काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित वागमती खोलामा पानीको बहाब बढेपछि नदी किनारमा बसोबास गरिरहेका १०० सुकुम्वासी परिवारलाई स्थानान्तरण गरेको छ ।
बल्खु कुलेश्वर नदी छेउछाउमा रहेको बस्तीमा पानी पसेपछि सशस्त्र प्रहरी बलले ती परिवारलाई जनविकास माध्यमिक विद्यालय बल्खुमा स्थानान्तरण गरेको हो ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बल्खुस्थित तरकारी बजारमा पानी पसेपछि बजारसमेत खाली गराइएको जानकारी दिनुभयो ।