• १८ असोज २०८२, शनिबार

देशवासीका नाममा प्रधानमन्त्रीको भिडियो सन्देश

नागरिकको सुरक्षा नै हाम्रो सर्वोपरि काम हो : प्रधानमन्त्री कार्की

blog

देशवासीका नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री सुशीला कार्की।

काठमाडौँ, असोज १८ गते । प्रधानमन्त्री सुशीला कार्कीले विपद्को यस समयमा नागरिकलाई जोखिमबाट बचाउन राज्यको सबै स्रोत प्रयोग गरिने बताउनुभएको छ ।

देशवासीका नाममा आज एक भिडियो सन्देश जारी गर्दै उहाँले असोज १७ गते बेलुकीदेखि निरन्तर देशभर भारी वर्षा भइरहेकाले राज्यका सबै निकाय परिचालन गरिएको र आवश्यक सुरक्षा निर्देशन पालना गरी सुरक्षित रहनसमेत आग्रह गर्नुभएको हो । 

प्रधानमन्त्री कार्कीले जल तथा मौसम विज्ञान विभागका अनुसार अझै दुई दिन निरन्तर वर्षा हुने भएकाले सुरक्षित र सावधानीपूर्वक रहन देशवासीलाई अपिल गर्नुभएको छ । “हामी बाढीपहिरो र कटानको उच्च जोखिममा छौँ, धेरै स्थानमा पहिरोको जोखिम छ । सरकारी निकाय उद्धार र राहतका लागि उच्च मनोबलका साथ २४ सै घण्टा लागिपरेका छन् । राजमार्ग र अन्य पूर्वाधारको सक्रियतापूर्वक निगरानी भइरहेकाले जहाँ हुनुहुन्छ त्यही सुरक्षित बस्नुस्, अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुस्, आवतजावत नगर्नुस्, सवारी नचलाउनुस्, जोखिमको पूर्वआकलन गरेर सुरक्षालाई उच्च प्राथमिकता दिएर मात्र काम गर्नुस्”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री कार्कीले जोखिमकै कारण सरकारले आइतबार र सोमबार सरकारले देशभर सार्वजनिक बिदा दिएको पनि उल्लेख गर्दै प्रहरी र अन्य सरकारी निकायले जारी गरेका सूचनाअनुसार नै काम गर्न सबैलाई अनुरोध गर्नुभयो ।

उहाँले सम्बोधनमा अविरल वर्षापछिको जोखिममा सुरक्षित रहन आग्रह गर्नुभएको छ । उहाँले सम्पूर्ण कर्मचारीलाई नागरिकको सुरक्षाका लागि उच्च मनोबलका साथ सक्रिय हुन निर्देशनसमेत दिनुभएको छ । तीव्र बहाव र डुबान क्षेत्रमा यात्रा नगर्न उहाँले अनुरोध गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले सबै नागरिकलाई काम गर्दा जोखिमको पूर्व अनुमान गर्न अनुरोध गर्नुभएको छ । ‘‘तपाईंहरुको सुरक्षा नै हाम्रो सर्वोपरी काम हो’’, उहाँले सम्बोधनमा भन्नुभएको छ ।