• १३ असोज २०८१, आइतबार

धानका लागि तेह्र अर्ब लगानी गर्ने लक्ष्य

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १६ गते  । ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ मूल नाराका साथ बुधबार देशभर १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । मुलुकभर कतै प्रदेश सरकार त कतै स्थानीय सरकार तथा सङ्घसंस्थाको आयोजनामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसहित राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको हो ।कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवको उपस्थितिमा कृषि अनुसन्धान परिषद् (नार्क)को अनुसन्धान केन्द्र खुमलटार (ललितपुर)मा धान दिवस तथा रोपाइँ महोत्सव मनाइयो । सो अवसरमा कृषिमन्त्री यादवले मेसिनबाट धान रोप्नुभएको थियो । 

सो अवसरमा कृषिमन्त्री यादवले आत्मनिर्भरका लागि १० लाख मेट्रिक टन धानको अभाव रहेको बताउँदै त्यसका लागि चैते धान तथा बाँझो जमिनको उपयोगमा जोड दिने बताउनुभयो । धानका नयाँनयाँ जात तथा हाइब्रिडमा पनि विशेष ध्यान दिने चर्चा गर्दै उहाँले थोरै जमिनमा धेरै उत्पादन कसरी गर्न सकिन्छ, त्यतातिर पनि मन्त्रालयले ध्यान दिने बताउनुभयो । बर्सेनि रासायनिक मलको हाहाकार हुने गरेको तर यसपटक कोभिड–१९ र युक्रेन–रुसबीचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमै मलको अभाव र अत्यधिक मूल्य वृद्धि भएको बताउनुभयो । 

तीन वर्षमा धानमा आत्मनिर्भर हुने लक्ष्य कृषि मन्त्रालयले लिएको थियो तर त्यो लक्ष्य पूरा हुन सकेन । गत कात्तिकमा आएको बेमौसमी वर्षाका कारण धान उत्पादनमा कमी आएको कृषि मन्त्तालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठले बताउनुभयो । धान खतीको क्षेत्रफल २.३ प्रतिशतको दरले घट्दै गइरहेको बताउँदै उहाँले मोटो बिग्रेको कारणले पनि धान उत्पादनमा झन् प्रभाव पार्ने अवस्था रहेको धारणा राख्नुभयो । 

धानमा आत्मनिर्भर हुनका लागि ३३ प्रतिशत चैते धान २५ प्रतिशत हाइब्रिड र ५० प्रतिशत मसिनो धान उत्पादन गर्नुपर्ने कुरामा जोड दिँदै सहसचिव श्रेष्ठले आगामी आर्थिक वर्षका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहमा धानका लागि मात्र १३ अर्ब रुपियाँ लगानी गर्ने लक्ष्य कृषि मन्त्रालयले लिएको जानकारी दिनुभयो । 

एक सय स्थानीय तहमा रैथाने बाली कार्यक्रम गर्नुका साथै धान मिसन कार्यक्रम पनि सुरु गर्न लागिएको उहाँले जानकारी दिनुभयो । राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र हर्दिनाथ (धनुषा)का निर्देशक डा. रामवरण यादवले खानका लागि मात्र ६८ लाख मेट्रिक टन धानको आवश्यकता रहेको बताउनुभयो । दाना, रक्सीलगायत अन्य प्रयोजनका लागि पनि चामल आयात भइरहेको जानकारी दिँदै उहाँले अहिले नेपालमा मकैको अभाव भएकाले चामल आयातमा वृद्धि भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “नेपालमा कम्तीमा ८३ लाख मेट्रिक टन धानको आवश्यकता छ । जब कि यहाँ गत वर्ष ५१ लाख ३० हजार मेट्रिक टन धान मात्र उत्पादन भएको हो, सबै आवश्यकता पूरा गर्नका लागि अझै ३० लाख मेट्रिक टन धान उत्पादन गर्नुपर्छ ।”कृषिमा लगानी उच्च छ तर त्यसको प्रतिफल एकदम न्यून रहेको बताउँदै निर्देशक यादवले १० प्रतिशत किसानले मात्र आफूले उत्पादन गरेको धान बेच्ने र ९० प्रतिशतले खाएपछि बाँकी रहेको मात्र बेच्ने गरेको बताउनुभयो ।