• १३ असोज २०८१, आइतबार

उद्योग विभागका सबै सेवा अनलाइनबाट

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असार १६ गते । नयाँ उद्योग दर्ता, नवीकरण, स्वदेशी विदेशी लगानी स्वीकृत अब अनलाइनबाट हुने भएको छ । उद्योग विभागले बुधबारदेखि सबै सेवा अनलाइनमार्फत सुरु गर्नेगरी सफ्टवेयर सार्वजनिक गरेको हो । विभागलाई ‘डिजिटलाइजेसन’मा लैजाने प्रक्रियाअन्तर्गत ‘इन्डस्ट्री म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (आईएमआईएस) सफ्टवेयर सार्वजनिक गरिएको हो ।

सो सफ्टवेयरमार्फत नयाँ उद्योग दर्तादेखि स्वीकृति लिनेसम्म अनलाइनबाटै गर्न सकिनेछ भने पुराना उद्योगको नवीकरण, अद्यावधिक, पुँजी वृद्धिलगायतका कार्य पनि गर्न सकिनेछ ।विभागका महानिर्देशक रामचन्द्र तिवारीले सेवालाई आधुनिक र प्रविधियुक्त बनाउन परीक्षणका रूपमा आईएमआईएस सफ्टवेयर प्रणाली शुभारम्भ गरिएको जानकारी दिनुभयो । “प्रारम्भिक रूपमा अहिले सुरु गरेका छौँ । एक/डेढ महिनापछि पूर्ण रूपमा सञ्चालनमा आउनेछ,” यहाँले भन्नुभयो । 

नयाँ उद्योग दर्ता, नवीकरण, प्रशासनिक काम, निर्यातमा नगद अनुदान, स्वदेशी विदेशी लगानी स्वीकृतदेखि विभागबाट हुने सबै काम अनलाइनबाटै गरिने उहाँले स्पष्ट पार्नुभयो । परीक्षणका रूपमा काम सुरु गरिएकाले केही समस्या आए तत्काल समाधान गरिने र केन्द्रमा सफल भएपछि दोस्रो चरणमा प्रदेशअन्तर्गतका घरेलु तथा साना उद्योग कार्यालयलाई एकीकृत रूपमा अनलाइनमा जोडिने उहाँले जानकारी दिनुभयो । 

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घको उद्योग समितिका सभापति भरत आचार्यले अनलाइन प्रणाली कार्यान्वयन गर्न सहयोग गर्ने बताउनुभयो । सरकारी कार्यालयमा सेवा अनलाइन गरे पनि कागजात लिएर कार्यालय नै धाउनुपर्ने अवस्था सिर्जना भएको उहाँले जानकारी दिनुभयो । 

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका उपाध्यक्ष मोहन कटुवालले लघु तथा घरेलु उद्योगी व्यवसायीलाई सहज हुनेगरी सेवा विस्तार गर्नुपर्ने बताउनुभयो । अनलाइन प्रविधिलाई आवश्यक पर्ने पूर्वाधार तयार गरी प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।