• १६ भदौ २०८१, आइतबार

चट्याङबाट दसको मृत्यु

blog

काठमाडौँ, असार १६ गते । चट्याङ लागेर एकै दिन १० जनाको ज्यान गएको छ । नेपालका विभिन्न स्थानमा मङ्गलबार राति अविरल वर्षाबीच परेको चट्याङ लागेर १० जनाको मृत्यु भएको गृह मन्त्रालयस्थित राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार देशका विभिन्न नौ जिल्लामा चट्याङ परेको थियो । चट्याङ लागेर घाइते भएकामध्ये १० जनाको मृत्यु भएको हो । 

चट्याङले नवलपरासी, रुपन्देही, बागलुङ, बाँके, पर्सा, धादिङमा एक/एक जना, कैलालीमा तीन र कञ्चनपुरमा एक गरी थप चार जनाको ज्यान गएको हो । यसरी मृत्यु हुनेमा अधिकांश घरबाहिर काम गरिरहेका महिला र पुरुष छन् । सामान्य घाइतेको विभिन्न जिल्लामा उपचार भइरहेको जनाइएको छ । प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईका अनुसार प्रायःजसो पूर्वमनसुनमा बढी चट्याङ पर्ने गरेको विगतको प्रवृत्ति छ तर यसपालि मनसुन पूर्ण रूपमा भित्रिइसकेको अवस्थामा यसरी चट्याङ परेर मानिसको ज्यान लिएको हो ।  वैशाखयता मात्र चट्याङबाट ३७ जनाको ज्यान गएको छ । अन्य ५८ जना घाइते भएका छन् ।

चट्याङबाट बच्न वर्षाको समयमा घरबाहिर हिँडडुल नगर्न तथा विद्युतीय सामग्री प्रयोग नगर्न प्राधिकरणले सुझाएको छ । मङ्गलबार रातिदेखि देशका अधिकांश भूभागमा अविरल वर्षा जारी छ । यसका कारण बाढीपहिरो, भारी वर्षा, सर्पदंशलगायतका जोखिम उच्च बनेको छ । मनसुन सुरु भएयता बाढीपहिरो र भारी वर्षाका कारण १५ जनाको ज्यान गइसकेको छ । 

अविरल वर्षाका कारण आएको बाढीपहिरोले नौवटा राष्ट्रिय राजमार्ग र सडकका ४८ स्थान अवरुद्ध भएका छन् ।  अवरुद्ध सडक खुलाउने काम पनि भइरहेको छ । सडक विभागका अनुसार अवरुद्ध सडकमध्ये ३८ स्थानमा दुवैतर्फको सडक सुचारु भएको, पाँच स्थानमा एकतर्फी मात्र सुचारु गर्न सकिएको छ । 

सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक, डुम्रे–बेँसीसहर–चामे–मनाङ सडक योजना र उत्तर–दक्षिण कोसी सडक अयोजना खाँदबारी गरी तीन स्थानमा अझै अवरुद्ध रहेको जनाइएको छ । सडक विभागका अनुसार गत वैशाख १ देखि हालसम्म ५०१ घण्टाभन्दा बढी राष्ट्रिय राजमार्ग र सडक अवरुद्ध भइसकेको छ । 

केही दिनदेखिको निरन्तरको वर्षाले सानाठूला सबै नदीको बहाव बढ्दा प्रदेश २ का अधिकांश भूभागलगायत अन्य होचा क्षेत्रमा डुबानको जोखिम बढेको छ । जल तथा मौसम विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार बुधबार प्रदेश १ को झापा, मोरङ, सुनसरी, इलाम, धनकुट, उदयपुर; बागमती प्रदेशको काभ्रेपलाञ्चोक, मकवानपुर र सिन्धुली क्षेत्रका सानाठूला नदीमा बाढीको उच्च जोखिम छ ।

मधेश प्रदेशका सबै जिल्ला, गण्डकी प्रदेशको स्याङ्जा, नवलपरासी बर्दघाट सुस्तापूर्व; लुम्बिनी प्रदेशको नवलपरासी, बर्दघाट सुस्तापश्चिम, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, प्युठान, दाङ र बाँके, बर्दिया क्षेत्रका नदीमा पनि बाढीको उच्च जोखिम छ । सुदूरपश्चिमको कैलाली र कञ्चनपुर पनि बाढीको उच्च जोखिममा छन् ।   

गृह मन्त्रालयअन्तर्गतको विपत् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार आगामी शुक्रबारसम्म नै जोखिम रहने हुँदा नदी तटीय क्षेत्रमा जनधनको क्षति हुनबाट जोगिन र जोगाउन उच्च सतर्कता अपनाउन शाखाले सूचना प्रवाह गरेको विपत् पूर्वतयारी तथा प्रतिकार्य शाखाका प्रमुख मातृका आचार्यले बताउनुभयो ।

Author

राधा चालिसे/चाँदनी हमाल