• ७ मंसिर २०८१, शुक्रबार

झरी र गीतको साइनो, भिडियो कुराकानी

असारे भाका : गीतमै प्रेम, वियोग, सुख र दुःख

blog

भिडियो : मनोजरत्न शाही/केशब गुरुङ  

काठमाडौं, असार १५ गते। असारको महिना मानो रोपेर मुरी उब्जाउने समयको रुपमा लिइन्छ। असारमा रोपाइँसँगै विभिन्न मिथक जोडिएका छन्। असार १५ मा दही चिउराको जति महत्त्व छ उस्तै असारे गीतको महत्त्व रहेको छ। 

असारमा भाका बिना रोपाइँको रमाइलो लिन सकिँदैन। रोपाइँमा गाइने असारे भाकाको फरक मिठास हुन्छ। नेपालका विभन्न भेगमा खेत जोत्ने हली, लहरै खेत रोपिरहेका महिला, बाउसे र आली ताछ्ने युवा सबै मिलेर असारे भाका गाउने चलन पुरानै हो। 

गीत गाउँने, एक अर्कामा हिलो छ्याप्दै रोपाइँको रमाइलो लिने गर्छन्। नेपालका विभिन्न भेगमा गाइने असारे गीत एकै प्रकारको हुन्छ। तर, ठाउँ र समुदायअनुसार भाकाको पन भने फरक हुन्छ। असारे भाकाले भौगोलिक विविधता पनि समेटेको छ। असारेलाई पूर्वी भेगमा ‘रसिया’ भनिन्छ भने पश्चिमाञ्चलतिर ‘काँठेभाका’ भनिन्छ। लेग्रराे तानेर गीतको पहिलो फाँकी झिकेपछि बीचमा अनुप्रासका टुक्का मिलाएर अन्तिम फाँकी वा टुप्पो गीत भन्ने चलन छ।

असारे गीतका पनि विभिन्न प्रकारका भाका हुन्छन्। गीत ठट्यौली पारामा गुन्जिने असारे गीत दोहोरो हुनेगर्छ। यसलाई दोहोरीको रुपमा महिला पुरुष विभाजन गरेरसमेत गाउने गरिन्छ।

रोपाइँमै भेट भएका महिला पुरुष भाकामार्फत् नै मायाका कुरा गर्छन्। वरिष्ठ काँठे राजा भनेर चिनिने लोकगायक शिव नारायण जोशीका अनुसार असारे गीत नेपाली लोक संगीतको उत्कृष्ट भाका हो। असारे भाकाले प्रेम, वियोग, पीडाका साथै घरपरिवारका दुःख र सुखका अनुभव साट्ने काम गर्छ। 

असारे भाका विशेषगरी असार महिनामा रोपाइँको समयमा गाउँने गरिन्छ। साउन सुरु भएपछि असारे भाका गाउन नमिल्ने जोशी बताउनुहुन्छ। यस्तै, आजभोलि असारे गीतलाई घाँसे गीतको रुपमा प्रयोग गरेको पाइन्छ। जसमा बाजाको प्रयोग हुँदैन। घाँसे गीतमा अर्थात् महिलाले घाँस काट्न जानेबेला मनको बह पोख्न गाएको गीत हो। तर, असारे गीत धान रोप्ने बेलामात्र गुन्जिन्छन्। जसमा रोपाइँ हुने घरमा अघिल्लो दिनदेखि नै बाजागाजाको जोडजाम हुने गर्‍थ्‍यो। 

“अहिले असारे गीतको भाका विस्तारै हराउँदै गएको पाइन्छ। असारे गीत हराउनु भनेको नेपाली संस्कृति र मौलिकता हराउँदै जानु हो”, जोशी भन्नुहुन्छ, “जति गाउने चलनमा छन् ती सबै असारे गीत हैन, सबै घाँसे नक्कली गीत हुन्।”  यसरी संस्कृति जोगाउन संस्कारको आवश्यकता रहने जोशीको अनुभव छ।