• ८ मंसिर २०८१, शनिबार

विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाउने सरकारको निर्णय

blog

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्‍त्री ज्ञानेन्द्रबहादुर कार्की । तस्बिरः केशब गुरुङ

काठमाडौं, असार १५ गते । सरकारले विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाएर बनोटमा हेरफेर गर्न स्वीकृत दिने निर्णय गरेको छ । मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्‍त्री ज्ञानेन्द्रबहादुर कार्कीले श्रेणीबिहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीको सेवा समूह र पद परिवर्तन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

यसैगरी, बैठकले वीरगञ्ज–सिमरा–पोखरिया प्रसारण लाइनको टावर तथा सबस्टेसनका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने र कार्यसम्पादन करार निर्देशिका, २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ ।

सञ्चारमन्त्री कार्कीले उपत्यका भित्र प्रसारण लाइन तथा सबस्टेशनमा संरचनागत सुधार, स्तरोन्‍नती तथा विस्तार गर्नका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय भएको बताउनुभयो ।

त्यस्तै, सशस्त्र प्रहरी (दोस्रो संशोधन) नियमावली, २०७९ को मस्यौदा उपर लोक सेवा आयोगकोे परामर्श लिने, मध्य भोटेकोशी जलविद्युत् आयोजनाको २२० केभी प्रसारण लाइनको लागि वन क्षेत्र प्रयोग गर्न दिने र कार्वन उत्सर्जन न्यूनीकरण खरिद सम्झौता गर्न वार्ता टोली गठन गर्ने निर्णय बैठकले गरेको छ ।

यसैगरी, भेटेटार स्काई वाक निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने, महाकाली पुल आयोजना क्षेत्रमा रहेका रुख हटाउने सम्बन्धमा, बृहत्तर जनकपुर क्षेत्र विकास परिषदको अध्ययनमा शीतल साहू पूर्वे (धनुषा) लाई नियुक्त गर्ने र निजामती सेवा पुरस्कार सिफारिस समितिको सदस्य तोक्ने निर्णय पनि बैठकले गरेको सञ्चारमन्त्री कार्कीले जानकारी दिनुभयो ।