• २७ वैशाख २०८१, बिहिबार

पोखरामा रोपाइँ महोत्सव : हिलोमा रमाए पर्यटक

blog

रमेश पौडेल 

पोखरा, असार १५ गते । कृषक मल बिउँको चिन्तामा रहेकाबेला पोखराका पर्यटन व्यवसायीले पर्यटकलाई सहभागी गराएर १७ औं असारे रोपाइँ महोत्सव मनाएका छन् । ‘पोखरा सबै मौसमका लागि’ भन्ने मूल नाराकासाथ पोखरा पर्यटन परिषद्ले बुधबार महोत्सव आयोजना गरेको हो ।

पोखरा २५ हेम्जाको माइस्थानमा करिब १० रोपनी खेतमा भएको रोपाइँ महोत्सवमा पर्यटन व्यवसायीसहित किसान सहभागी थिए । महोत्सवमा विभिन्न किसिमका प्रतियोगिता समेत आयोजना गरिएको छ । 

महोत्सवमा विदेशी पर्यटक नेपाली पर्यटकसँगै रमाइलो मानेर हिलो छ्यापाछ्याप गरेका थिए । विदेशीहरु पनि विभिन्न प्रतियोगितामा भाग लिएका छन् । विदेशीले सो कार्यक्रमलाई निकै चासाको रुपमा लिएको कृषकको भनाइ छ ।  


खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यवसायीकरण गर्दै कृषकलाई आफ्नो पेसाप्रति अभिप्रेरित गर्नु तथा परम्परागत कृषि प्रणालीमार्फत पोखराको पर्यटन प्रवर्द्धन गर्ने  उद्देश्यका साथ २०६१ सालदेखि परिषद्ले असारे रोपाइँ महोत्सवको आयोजना गर्दै आएको छ। 

हेम्जाका रामबहादुर कुवँर, तुलसी पौडेल, अग्निधर पौडेल, डिल्लीराम नेपाली, कृष्णबहादुर कुवँर, मैना केसी र प्रकाश पौडेलको खेतमा महोत्सव भएको हाे। 

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले नेपाल सबै सिजनमा ट्राभल गर्न उपयुक्त छ भन्ने सन्देश दिन महोत्सवलाई निरन्तरता दिइएको बताउनुभयो । सहरमा बस्ने नयाँ पुस्तालाई खेती प्रणालीबारेमा जानकारी दिन महोत्सव फलदायी हुने गरेको उहाँको भनाइ छ । 

महोत्सवमा साउने प्रतियोगिता, आमा समूहबीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्नेसहित दौड प्रतियोगिता भएको थियो । यसैगरी, रस्साकसी प्रतियोगिता एवम् उत्कृष्ट कृषक तथा समाजसेवीको सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम भएका हुन् । महोत्सवमा करिब २ सय विदेशीको सहभागिता रहेको महोत्सव संयोजक एवम् परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो । 


पोखरामा बढ्दो प्लटिङसँगै कंक्रिट सहरका कारण महोत्सव स्थलसमेत पाउन मुस्किल हुन थालेको कृषकको भनाइ छ । महोत्सवले कृषकको समस्यालाई सम्बोधन गर्नुको सट्टा सहरमा बस्ने सहरियाको लागि मनोरञ्जनस्थल बन्नेगरेको स्थानीयको प्रतिक्रिया छ ।

अधिकांश मानिस हिलोमा छिरेर टिकटक बनाउनदेखि सेल्फी खिच्न व्यस्त हुनेगरेको कृषक मैना केसीले बताउनुभयो । किसान विष्णुप्रसाद तिमिल्सिनाले किसानलाई समयमै मल बिउँ उपलब्ध भएको भए महोत्सव अझ उत्साहसाथ मनाउन सहज हुने बताउनुभयो । 


महोत्सवमा सहभागी पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरको बजेट कृषिमैत्री रहेको भन्दै कृषकका समस्या समाधान गर्न महानगर तयार रहेको बताउनुभयो । कृषि निर्देशनालयका अनुसार कास्कीमा हालसम्म १४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।