• १५ असार २०८१, शनिबार

पार्टीको आन्तरिक विषय अध्ययन गर्न पाँच सदस्यीय कार्यदल

blog

तिलाचन पाण्डे

तम्घास, असार १५ गते । नेकपा (एमाले) गुल्मीले पार्टीभित्र अराजक तत्वहरुको अध्ययन गर्न ५ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ । सो पार्टीले पत्रकार सम्मेलनको आयोजना गरी गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीभित्र आन्तरिक असमझदारी, असन्तुष्टि, असहयोग मुख्य कारण रहेको भन्दै पार्टीले अध्ययन कार्यदल गठन गरेको जनाएको छ ।

कार्यदलमा केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज जंग नेपालीको नेतृत्वमा पाँच सदस्य रहेको अध्ययन कार्यदल गठन गरेको जिल्ला अध्यक्ष बालसिंह काउछाले जानकारी दिनुभयो । पार्टीभित्रै रहेर सङ्गठनात्मक अराजकताहरु प्रकट भएको भन्दै अध्ययन कार्यदल गठन गरिएको र अध्ययन कार्यदलको प्रतिवेदनको आधारमा प्रमाणित भए कारवाही गर्ने काउछाले बताउनुभयो । 

निर्वाचनमा कर्मचारी खटनपटन, प्रहरी, प्रशासन र सबै शक्ति एमालेविरुद्ध खनिएको समेत काउछाले आरोप लगाउनुभयो । पार्टीले गत वैशाखको निर्वाचनमा भएको कमी कमजोरीबाट शिक्षा लिँदै आगामी निर्वाचनमा एकताबद्ध भएर लाग्ने निष्कर्ष निकालेको छ ।

पार्टीले एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु तथा उम्मेदवारलाई असार महिनाभित्र अभिमुखीकरण कार्यक्रम आयोजना, पालिकाभित्रको कामलाई प्रभावकारी बनाउने जनाएको छ ।  एमाले गुल्मीले जिल्लाका स्थानीय तहमा भएका राम्रा काममा रचनात्मक सहयोग गर्ने र नराम्रा कामको भण्डाफोर गर्ने निर्णय समेत गरेको पार्टी सचिव गणेश श्रीपालीले जानकारी दिनुभयो ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले एक नगरपालिकासहित पाँच स्थानीय तह, नेकपा (माओवादी केन्द्र) ले चार स्थानीय तह र नेकपा (एमाले) ले एक नगरपालिकासहित  तीन स्थानीय तहको प्रमुखमा जीत हासिल गरेको छ ।