गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज ११ गते । जेनजी आन्दोलनपछिको सरकारको आर्थिक कार्यदिशा र प्राथमिकताबारे सरकारले नेपालस्थित स्थानीय दातृ निकायका प्रमुखसँग छलफल गरेको छ । जेनजी आन्दोलनका क्रममा उठाइएको भ्रष्टाचारविरोधी तथा पारदर्शिताको मागलाई सम्बोधन गर्न तथा आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुनर्निर्माणलगायतलाई समेट्ने गरी सरकारले ल्याएको आर्थिक कार्ययोजनामा दातृ निकायले सहमति जनाएको अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जनाउनुभएको छ ।
यसअघि भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको सरकारका मन्त्रीसँग नेपालस्थित कूटनीतिक नियोग, दातृ निकाय तथा विकास साझेदारका प्रतिनिधिले बेग्लाबेग्लै भेटघाट र छलफल गरेका थिए । त्यसपछि शुक्रवार अर्थ मन्त्रालयमा विकास साझेदारसँग सरकारले सामूहिक बैठक गरेको हो ।
साथै नेपालमा हाल भएको परिवर्तनपछि गठित अन्तरिम सरकार युवाको चाहना अनुरूप पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचारमुक्त समाज र विधिको शासन स्थापनामा प्रतिबद्ध रहेको बताउनुभयो । आन्दोलनका कारण सार्वजनिक तथा निजी क्षेत्रमा ठुलो आर्थिक क्षति भएको उल्लेख गर्दै अर्थमन्त्री खनालले अनुपयुक्त खर्च कटौती र मितव्ययिताका माध्यमबाट पुनर्निर्माण अघि बढाइने र आर्थिक सुधारका कार्यक्रमलाई तीव्रता दिइने उल्लेख गर्नुभयो । उहाँले विकास साझेदारले नेपालको आर्थिक तथा सामाजिक विकासमा उल्लेख्य योगदान पु-याउँदै आएकोमा धन्यवाद दिँदै वर्तमान सरकारका तत्कालका प्राथमिकताबारे प्रकाश पार्नुभएको थियो ।
बैठकमा विकास साझेदारका तर्फबाट संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक, युएनएचसिआरका प्रतिनिधि, नेपालका लागि जापान, दक्षिण कोरिया, संयुक्त अधिराज्य, स्विट्जरल्यान्ड, फिनल्यान्ड र अस्ट्रेलियाका राजदूत, भारत र नर्वेका प्रतिनिधि, युरोपियन युनियन, विश्व खाद्य कार्यव्रmमका प्रतिनिधिलगायतले आफूहरू नेपालको वर्तमान अवस्थाप्रति जानकार रहेको र वर्तमान सरकारले लिएका नीति तथा कार्यक्रमप्रति सहमति जनाउनुभयो । विकास साझेदारले चालु रहेका आयोजनालाई निरन्तरता दिने र थप कार्यक्रम सञ्चालनका लागि नेपाल सरकारसँग सहकार्य गर्न सधैँ तयार रहेको उल्लेख गरको अर्थ मन्त्रालयले जनाएको छ ।
जापान र युरोपेली सङ्घको छलफल
यसैबिच ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङसँग शुव्रmबार नेपालका लागि जापानका राजदूत माएदा तोरू र युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोसँग भेट गरी सहयोगका क्षेत्रबारे छलफल गर्नुभएको छ । नेपालको आर्थिक तथा सामाजिक विकासका लागि लामो समयदेखि महŒवपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा रहेको जापानका राजदूतसँगको भेटमा जापानले नेपाललाई पु¥याउँदै आएको द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय तथा प्राविधिक सहायता, हाल सञ्चालित आयोजनाको कार्यान्वयन अवस्थालगायतका विषयमा छलफल भएको थियो ।
जापानको सहयोगमा निर्माणाधीन नागढुङ्गा सुरुङका लागि आवश्यक थप सहायता, बिपी राजमार्ग पुनर्निर्माण, १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाका लागि आवश्यक थप सहायता, कोटेश्वर चोक सुधार, विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि सञ्चालित आयोजनाको प्रगतिलगायतका विषयमा छलफल भएको थियो ।
नेपालको विकास प्राथमिकता प्राप्त क्षेत्रमा जापानको सहायताको महŒवपूर्ण योगदान रहेको उल्लेख गर्दै मन्त्री घिसिङले विद्युत् क्षेत्रमा रणनीतिक महŒवका ६७० मेगावाटको दुधकोशी, एक हजार दुई सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त आयोजना, पूर्वाधार आयोजनाको तयारी, काठमाडौँ उपत्यकाको एक सय वर्षको सहरी व्यवस्थापनका लागि एकीकृत गुरुयोजना तयारीलगायतका सम्भावित क्षेत्रमा सहायता उपलब्ध गराउन आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
भेटमा राजदूत तोरूले नेपालका रणनीतिक महŒवका ठुला आयोजनामा सहायता उपलब्ध गराउन जापान तयार रहेको उल्लेख गर्नुभयो । युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जासँगको भेटमा रणनीतिक महŒव तथा रूपान्तरणकारी जलाशययुक्त जलविद्युत् आयोजना, हरित ऊर्जा, ऊर्जा सुरक्षा एवं दक्षता, ऊर्जा क्षेत्रमा थप सहायतालगायतका विषयमा छलफल भएको थियो ।
मन्त्री घिसिङले जेनजी प्रदर्शनपछि गठन भएको सरकारको प्राथमिकता चुनाव, सुशासन र आन्दोलनका कारण क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण भए तापनि विकास आयोजनालाई अगाडि बढाउन नीतिगत तथा कानुनी सुधार, अन्तरमन्त्रालय समन्वय, विद्युत् बजार थप सुनिश्चित गर्नु रहेको बताउनुभयो । युरोपेली सङ्घबाट नेपालको विकासमा उपलब्ध गराइएको सहायताका लागि धन्यवाद दिँदै मन्त्री घिसिङले ६७० मेगावाट क्षमताको दुधकोशी जलाशययुक्त आयोजना निर्माण उच्च प्राथमिकतामा रहेकाले आयोजनाको वित्तीय व्यवस्थापनका लागि आवश्यक रकम जुटाउन, प्रसारण तथा वितरण प्रणाली सुधारका लागि थप सहायता उपलब्ध गराउन आग्रह गर्नुभयो । राजदूत लोरेन्जाले नेपालको ऊर्जा क्षेत्रमा थप सहयोग र सहकार्य गर्न युरोपेली सङ्घ सधैँ तयार रहेको बताउनुभयो ।