काठमाडौँ, असोज ९ गते । नेपाल बुद्धिचाल महासङ्घ र रसियाको मस्को क्षेत्रीय चेस महासङ्घबिच बुद्धिचाल खेलको विकासका लागि ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
रसियाका राजनीतिज्ञ एवं सिनेटर सेर्गेइ अलेक्जान्द्रोभिच कार्जाकिन र नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
नेपाली बुद्धिचाल टोली हाल अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न रुसियामा रहेको छ । सम्झौताअनुसार दुबै महासङ्घले चेसलाई आपसी मित्रता र समझदारीको माध्यमका रूपमा उपयोग गर्दै विभिन्न क्षेत्रहरूमा सहकार्य गर्ने भएका छन् ।
दुबै पक्षबिच चेसको लोकप्रियता बढाउन अनुभव साटासाट गर्दै खेलाडीको दुई देशीय आपसी भ्रमण गरिने, नेपाल र रसियामा खेलाडीको तालिम सञ्चालन गरिने तथा अनलाइन मार्फत समेत प्रशिक्षण हुने, नयाँ खेलाडी तयार गर्न प्रशिक्षकको सीप अभिवृद्धि, अतिरिक्त शिक्षा र तालिमको व्यवस्था,
नेपाल र रुसका खेलाडीबिच द्विपक्षीय प्रतियोगिता आयोजना सञ्चालन, चेस सम्बन्धी विषयगत गोष्ठी, सम्मेलन र विभिन्न कार्यक्रमहरूको समेत आयोजना गर्ने सहमति भएको छ।
सम्झौताअनुरुप खेलाडी एवं खेल प्रतिनिधिको सहभागिता र कार्यक्रमका वित्तीय शर्तहरू दुबै पक्षबिच अग्रिम सहमति गरेर तय गरिनेछ । सम्झौता पत्रमा उल्लेख भएअनुसार यस सम्झौतालाई अन्तर्राष्ट्रिय सन्धिका रुपमा मानिने छैन र यसले अन्तर्राष्ट्रिय कानुनअनुसार कुनै कानुनी दायित्व सिर्जना गर्नेछैन ।
सम्झौता रुस गणराज्य काल्मिकियाका राष्ट्रपति एवं काल्मिक क्षेत्रीय चेस फेडरेसनका अध्यक्षसमेत रहेका किर्सान निकोस्लाभिच इल्युमजिनोभको अग्रसरतामा भएको अध्यक्ष हेराकाजी महर्जनले जानकारी दिनुभयो ।
महर्जनका अनुसार बुद्ध धर्मका अनुयायी किर्सानले नेपाल भ्रमणका क्रममा परिकल्पना गरेको बौद्ध राष्ट्रबिचको चेस खेल काल्मिकियामा सम्पन्न गरेको छ ।
उहाँले विश्वशान्ति दुत गौतम बुद्धको नाममा दोस्रो प्रतियोगिता पुन: रुसमा हुने र तेस्रो संस्करण नेपालमा आयोजना गर्ने समझदारी बनेको पनि बताउनुभयो ।