सन्तोष सुवेदी
पाख्रीबास (धनकुटा), असोज ९ गते । धनकुटाको छथरजोरपाटी गाउँपालिका –६ स्थित सिंधुवामा चाडपर्वलक्षित बजार पसल अनुगमन गरिएको छ । बिहीबार सिंधुवा बजर क्षेत्रका करिब एक दर्जनभन्दा बढी किराना तथा खुद्रा पसल अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा पसलमा बिक्रीका लागि राखिएका अखाद्य बस्तु तथा पेयपदार्थ भेटिएको थियो । पसलबाट म्याद गुज्रिएका स्प्राइट, ड्यू, कोक, फेन्टा र लगायतका पेयपदार्थमा भेटिएको थियो । यस्तै, अखाद्य बस्तु बिस्कुट, चिप्स, बेकरीजन्य बस्तु, आटा र प्याकेजिङजन्य म्याद गुज्रिएका खाद्यान्न भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षण अधिकारी सुशील कोइरालाले बताउनुभयो ।
उहाँका अनुसार किराना तथा खुद्रा पसलमा मुल्यसुचि समेत नराखिएको बताउनुभयो । पसलहरुमा मूल्यसूचि नराखिएका र राख्न बाँकी रहेका पसलमा मुल्यसूचि टाँस गर्न आग्रह गरिएको थियो । यस्तै, अखाद्य बस्तु बेच बिखन नगर्न र आगामी दिनमा गर्नेगरेको पाइएमा आवश्यक बमोजिम कारबाही गर्ने चेतावनी गराइएको थियो ।
घरेलु तथा साना उद्योगको कार्यालयले आयोजना गरेको अनुगमन जिल्ला प्रशान कार्यालय धनकुटा, उद्योग बाणिज्य संघ, कर कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र सामूहिक रुपमा बजार अनुगम गरेका थिए ।
चाडबाडमा खाद्यान्न तथा पेयपदार्थ अत्यधिक बिक्री हुने भएकाले म्याद गुज्रिएका बस्तु मिसावट हुनेगरेको पाइएकाले बजार अनुगमन तिब्रता दिइएको समेत जनाइएको छ । अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका खाद्यान्न पदार्थ जफत गरी नष्ट गरिएको छ ।