• ९ असोज २०८२, बिहिबार

उखु किसानको खातामा अनुदान रकम

blog

कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहट ।

प्रवीण कुमार शर्मा 

चन्द्रपुर (रौतहट), असोज ९ गते । रौतहटका उखु किसानले बिहिबार अनुदानको रकम प्राप्त गरेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले किसानको खातामा अनुदान रकम जम्मा गरेको हो । 

रौतहटका ३ हजार ६ सय ४६ उखु किसानलाई ३ करोड ४० लाख त्रिपन्न हजार ८सय ८ रुपैया २५ पैसा रुपियाँ अनुदान रकम निकासा गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका प्रमुख कोष नियन्त्रक देवी प्रसाद गौतमले जानकारी दिनुभयो ।

चाडपर्वको बेला रहेकोले प्राथमिकता दिएर उखु किसानको रकम भुक्तानी गरिएको प्रमुख कोष नियन्त्रक गौतमले बताउनुभयो । रौतहटका उखु किसानले प्रतिक्विन्टल ३५ रुपियाँका दरले अनुदान रकम प्राप्त गरेका छन् । 

सरकारले गएको वर्ष  किसानलाई प्रतिक्विन्टल ७० रुपियाँका दरले अनुदान उपलब्ध गराउने निर्णय गरे पनि अहिले रकम निकासा गर्दा ३५ रुपियाँका दरले वितरण गर्न पुग्ने गरी मात्रै निकासा गरेको थियो ।

रौतहटको कटहरिया नगरपालिकामा रहेको श्री बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डस्ट्रि प्रालिले क्रसिङ गरेको उखुको विवरण अनुसार किसानलाई अनुदान रकम निकासा गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले जनाएको छ ।